कर्कटका लागि वर्ष मिश्रित, वृहस्पति र केतुको गोचर अनुकूल
धनागम बढ्ने, मानसम्मान प्राप्त हुने, विद्याको क्षेत्रमा प्रगति हुने, परिवारिक वातावरण राम्रो रहने समय
ज्यो हरि पन्त,
प्रकाशित २०८२ वैशाख १ सोमबार
600
Shares
कर्कट राशिका लागि यो वर्ष मिश्रित रहन सक्छ । वर्षारम्भमा वृृहस्पति र केतुको गोचर अनुकूल रहेकाले धनागम बढ्ने, मानसम्मान प्राप्त हुने, विद्याको क्षेत्रमा प्रगति हुने, परिवारिक वातावरण राम्रो रहने समय छ ।
जेठबाट बृहस्पति र राहु–केतुको गोचर परिवर्तनका कारण मन अशान्त रहने, खर्चको मात्रा बढ्ने, पारिवारिक वा प्रेम जीवनमा अविश्वास देखा पर्ने समय छ । शनिको गोचरका कारण धर्मकर्ममा मन नजाने, छाती सम्बन्धित समस्या आउन सक्ने रहेकाले सतर्क रहनुपर्छ ।
यो वर्ष महिनाका दृष्टिले वैशाख, जेठ, असोज र पुष महिना शुभ रहेका छन् । त्यस्तै कार्तिक, फाल्गुन र असार महिना अशुभ रहेका छन् भने अन्य महिना सामान्य रहन सक्छन् ।
यो वर्षको वैशाखः सबै कार्यहरू सिद्ध हुने जेठः लाभका योगहरू असारः खर्चमा वृद्धि साउनः शारीरिक पीडा भदौः मनमा भय असोजः धन प्राप्ति कार्तिकः मानसम्मान मङ्सिरः समस्याको सामना गर्नुपर्ने
कर्मक्षेत्र/जागिरः कर्कट राशिका लागि नयाँ वर्ष मिश्रित फलदायी रहनेछ। आरम्भकालिक महिना केही कार्यदायी र दुविधा युक्त रहन सक्नेछन् । विस्तारै परिस्थिति अनुकूल हुँदै जानेछ । जीवनमा नयाँ योजना सुरु गर्न अनुकूल समय आउने देखिन्छ । पेशागत जीवन उपलब्धिमूलक रहनेछ । जागिरमा पदोन्नतिका अवसर मिल्नेछन् ।
आर्थिकः आर्थिक पक्ष मध्यम फलदायी रहनेछ। लगानी गर्दा वा ऋण लेनदेन गर्दा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ। वर्षको उत्तराद्र्धबाट व्यापारमा वृद्धि हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् । सेयर व्यवसाय मध्यम फलदायी रहने देखिन्छ । लगानीका नयाँ अवसर मिल्नेछन् । साथै असोजपछि आर्थिक लेनदेनमा सावधानी अपनाउनुहोस्। नियमित योग र ध्यानले स्वास्थ्य सुखद् रहनेछ । बलभन्दा बुद्धिको प्रयोगले सफलता प्राप्त हुनेछ। सामाजिक मान प्रतिष्ठा प्राप्तिका योग देखिन्छन् । धैर्य, परिश्रम र सही योजना महत्वपूर्ण रहनेछन् ।
स्वास्थ्यः स्वास्थ्यमा ध्यान दिनुपर्ने वर्ष हो । हाडजोर्नी, पाचन र मानसिक तनावसम्बन्धी समस्या देखिन सक्छ । नियमित व्यायाम र खानपानमा विशेष ध्यान दिनुहोस् । आयुर्वेद वा योगलाई जीवन शैलीमा समावेश गर्नु लाभदायक हुनेछ ।
पारिवारिकः पारिवारिक सम्बन्धमा मध्यम फलदायी रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । सन्तान सुख प्राप्तिको योग देखिन्छ । नयाँ सदस्यको आगमनले परिवारमा खुशी ल्याउनेछ ।
शिक्षाः विद्याको क्षेत्र फलिभूत रहनेछ। विद्यार्थीका लागि यो वर्ष मध्यम फलदायी हुनेछ । वैशाख, ज्येष्ठ र आश्विन महिनामा पढाइप्रति रुचि बढ्नेछ । उच्च शिक्षाका लागि प्रयासरतले सफलता प्राप्त गर्ने सम्भावना छ । प्राविधिक पक्षको अध्येताका निम्ति वर्ष अधिक फलदायी रहनेछ । अध्यापनको क्षेत्र पनि सुखद् नै रहने देखिन्छ । वैदेशिक यात्राका योग देखिन्छन् ।
प्रेम सम्बन्धः यो वर्ष प्रेम सम्बन्ध सुदृढ रहनेछ । समर्पणको भावनाले प्रेममा सफलता मिल्नेछ । दाम्पत्य पक्ष पनि फलिभूत नै रहने देखिन्छ ।
उपायः धार्मिक गतिविधिमा रुचि बढ्नेछ। तीर्थ यात्रा वा कुनै धार्मिक अनुष्ठानमा सहभागी हुने अवसर मिल्न सक्छ। बिहान ॐनमः शिवाय मन्त्र जप गर्नु मानसिक शान्तिका लागि लाभदायक हुनेछ । साथै भगवान विष्णुको पूजा ,ग्रह शान्ति वा भैरवको उपासना गर्नुहोस् साथै माछा लाई खान दिनुहोस् भाग्यमा वृद्धि हुनेछ।
अनुकूल महिनाः बैशाख, ज्येष्ठ, आश्विन, माघ । चुनौतीपूर्ण महिनाः साउन, कार्तिक, फाल्गुन रहनेछन् । शुभ रंगः सेतो, नीलो र हरियो । शुभ अंकः २,७ र ९ । शुभ बारः सोमबार, मंगलबार र बिहीबार ।