arrow

२०८२ सालको वार्षिक भविष्य फल

शासकवर्गको कोपभाजनमा परेका जनताले निरन्तर दुःखको अनुभूति गर्ने

सस्तो लोकप्रियताका लागि आयोजना गरिने कार्यक्रममा राज्यकोषको दुरुपयोग हुने प्रबल सम्भावना 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १ सोमबार
horoscope-yearly.jpg

यस वर्ष साठी संवत्सरमध्ये बार्हस्पत्यमानले कालयुक्तनामको संवत्सरको समाप्तिसँगै सिद्धार्थीनामको संवत्सर प्रारम्भ भएको छ । मेष संक्रान्तिबाट भुक्तमासादि ०२९१३४१४८ र भोग्यमासादि ११/०/२५/१२ रहेको छ । यसपछि सौरमानले रौद्रनामक संवत्सरको आगमन हुनेछ । संवत्सरफल निम्नअनुसार रहेको छ । 

सिद्धार्थी संवत्सरको प्रभावले शासक र जनताका बीचमा परस्परको वैरत्व समाप्त भई खुशी र सन्तोषको वातावरण निर्माण हुनेछ । प्रचुर मात्रामा हुने वृष्टि र धान्यादि वस्तुको उत्पादनले पृथ्वीमा समृद्धि बढ्नेछ भने रौद्रनामक संवत्सरको प्रभाव वृद्धिसँगै शासकवर्गको कोपभाजनमा परेका जनताले निरन्तर दुःखको अनुभूति गर्नेछन् । 

वृष्टिमा मन्दी आउनेछ । गुरुको उदयास्त विचार गर्दा मार्गशीर्ष वर्ष परेकाले कपास र तत्जन्य पदार्थका साथै गहुँ, मास, तिललगायतका सामग्रीको मूल्यवृद्धि हुनेछ । 

राजा सूर्यका कारण वृष्टिमा अल्पता आउनेछ । दूध तथा दुग्धजन्य पदार्थको उत्पादनमा कमी, धान्यादि वस्तु एवं फलफूलको उत्पादनमा न्यूनता, अग्निभय, जनधनको क्षति, चोरडाँकाको भय, शासकमा विग्रह, जनतामा दुःखकष्ट, रोगव्याधिजन्य दुःख हुनेछ । मेघ बाहुल्य रहे पनि वृष्टिमा न्यूनता आउनेछ । देशको कुनै प्रतिष्ठित व्यक्तिको निधन हुनेछ । 

राज्याधिकार प्राप्त ग्रह चन्द्रमा मन्त्री र सस्येश पदमा आसीन बृहस्पतिका कारण लोकले केही सुखको अनुभूति गर्न पाउनेछ । लोकरञ्जनकारक वृष्टिको अभाव हुने छैन । फलस्वरूप जनताले राहतस्वरूप सुखको सास फेर्नेछन् । सन्तुलित वृष्टिका कारण धान्यादि वस्तुको उत्पादनले निरन्तरता पाउनेछ । धार्मिक कार्यहरूको आयोजनामा वृद्धि हुनेछ । 

धान्येश मङ्गलका कारण गृष्मकालीन धानको उत्पादनमा कमी एवं भारी मूल्यवृद्धि हुनाका साथै प्रमुख प्रजातिका धानहरू, उखु, चिनी, सखर जस्ता पदार्थहरूको मूल्य वृद्धि हुनेछ । मेघेश सूर्यका कारण जनमानसमा उत्पन्न सन्ताप वृद्धिको निवारणस्थल केवल ताल तलाउमात्र हुनेछन् तापनि जौ, चना, उखु एवं उत्तम प्रजातिका धानहरूको उत्पादन राम्रै रूपमा हुनाले जनतामा सामान्य सुख प्राप्त हुनेछ । 

रसेश शुक्रका कारण जनमानसमा थोरै भए पनि सुखको सञ्चार हुनेछ । ताल तलाउमा जलवृद्धि हुनेछ भने ब्रह्मज्ञानी साधुत्सन्त, ब्राह्मण एवं प्राज्ञिकजनप्रति लोकको सम्मानजनक भाव बढ्नेछ । 

यज्ञअनुष्ठानको आयोजनामा वृद्धि हुनेछ। बुट्टे एवं फेशन डिजाइनका कपडा, शङ्ख, चन्दनलगायतका सामग्रीको वस्तुमा हुने लगातार विशेष मूल्य वृद्धिको कारक निरतेश बुध रहनेछ । सौन्दर्य प्रशाधनका सामग्रीमा विशेष मूल्य वृद्धि हुनेछ । 

फलेश शनि भएकाले कलहको वातावरण उत्पन्न हुनेछ । अधिक हिमपातको सम्भावना रहेको छ । चोरडाँकाको भयले जनता आक्रान्त बन्नेछन् । धनेश बुधका कारण वित्तीय संस्थामा निक्षेप वृद्धि हुनेछ । लोकमा ब्रह्मकर्मप्रति जनमानसको ध्यान आकृष्ट हुनेछ । कृषिकर्म सम्बद्ध आयोजनमा स्थानीय सरकारको ध्यान केन्द्रित हुनाका साथै तदनुकूल बजेट विनियोजन हुनेछ । 

दुर्गेश सूर्यका कारण सुरक्षा संयन्त्रको परिचालन सामान्यतया न्यायपूर्वक नै हुनेछ । तसर्थ गाउँ, शहर सबैतिर सामान्य सुरक्षा सुखको अनुभूति हुने वातावरण बन्नेछ । हिँडडुल गर्ने सबै निर्भय हुनेछन् । सूर्यको आप्रिवेश समय विचार गर्दा फलका हिसाबले तिथि र योगको उत्तम संयोग परे पनि वार र नक्षत्र सामान्य छन् । 

वेलाफल आदि विचार गर्दा पनि शुभाशुभत्वको मिश्रित स्थिति देखिएकाले सबैद्वारा शुभाशुभ मिश्रित फलप्राप्ति हुने अवस्था छ ।

जगलग्न कुण्डलीमा लग्नेश मङ्गल मित्रगृही भई चतुर्थ स्थानमा बसेको छ । शासकवर्गले चाहेमा असल मित्रहरुको सरसल्लाह र सहयोगले आफ्ना योजनाहरू कार्यान्वयन गराउन र जनतामा सुखको सञ्चार गराउन सफल हुनेछन्। लग्नमा चतुर्थेश चन्द्रमा र लग्नेश मङ्गलको दृष्टि रहेको छ । असल नियत राखेर सुरु गरिएमा विकास निर्माणका योजना निर्वाधरूपमा सम्पन्न हुनेछन् । द्वितीय स्थानमा शत्रुगृही बृहस्पति छ । 

राज्यसंयन्त्रका प्रवक्ताका वाणी खासै प्रभावकारी बन्नेछैन । द्वादशभावमा पापग्रह शनि र राहुका साथ बुध र शुक्रको अवस्थितिका कारण सस्तो लोकप्रियताका लागि आयोजना गरिने कार्यक्रममा राज्यकोषको दुरुपयोग हुने प्रबल सम्भावना छ । 

यसप्रति असल नागरिकहरू सबैको ध्यान आकृष्ट हुनु जरुरी छ । राष्ट्रको विकास र जनतामा आशाको सञ्चार अभिवृद्धि गराउने ध्येय भएमा ग्रहपरिषदमा अवस्थित ग्रहस्थितिलाई विचार गर्दै सबैसँग सरसल्लाहका साथ संयमपूर्वक अघि बढ्नु शासकवर्ग र जनता दुवैका लागि श्रेयस्कर हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ