नेपाल र हङकङ बीचको खेल रद्द, नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा
उपाधि भिडन्त कुवेतसँग, अंक बाँड्नु पर्दा हङकङ बाहिरियो, तेस्रो स्थानका लागि कतारसँग खेल्ने
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३० शनिबार
793
Shares
काठमाडौँ । हङकङमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको लिग चरणको अन्तिम नेपाल र आयोजक हङकङबीचको खेल वर्षाले रद्द भएको छ ।
खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक पाएका छन् । सोसँगै नेपाल ५ अंकसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने हङकङ तेस्रो स्थानमा रहेर तेस्रो स्थानका लागि खेल्नेछ ।
हङकङको मोङककमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको हङकङले वर्षाले खेल रोकिनुपूर्व ९ ओभर खेल्दा ३ विकेट गुमाएर ६८ रन बनाएको थियो ।
नेपालका लागि ललित राजवंशीले २ तथा नन्दन यादवले १ विकेट लिएका थिए । त्यसपछि वर्षाले पुनः खेल हुन नसकेसँगै रद्द भएको थियो ।
रद्द हुँदा नेपाल दुई जित र एक बराबरीसँगै ५ अंकसहित शीर्ष स्थानमा रहन पुग्यो भने ४ अंकसहित कुवेत दोस्रो भयो ।
३ अंकसहित हङकङ तेस्रो भयो । अंकविहीन कतार चौथो भयो ।
अब उपाधिका लागि आइतबार नेपाल र कुवेत भिड्ने छन् । त्यस्तै तेस्रो स्थानका लागि हङकङ र कतार भिड्ने छन् ।
नेपालले यसअघि पहिलो खेलमा कतारलाई ८ विकेटले र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपाल र कुवेतको खेल
नेपालले जितका लागि १८६ रनको चुनौती १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपाललाई जिताउन अलराउन्डर कुशल भुर्तेलले ५० बलमा ८१ रन जोडे ।
त्यस्तै पहिलो विकेटका लागि कुशलसँग १२७ रनको साझेदारी गर्ने क्रममा आसिफ शेखले ३८ बलमा ५३ रन बनाए ।
त्यस्तै दिपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन जोडे । गुल्सन झाले ३ बलमा अविजित रहँदै ९ रन बनाए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो ।
कुवेतका लागि क्लिन्टो एन्टोले ३० बलमा ४१, मिट भाब्सरले २८ बलमा ३५ तथा बिलाल ताहिरले १३ बलमा ३२ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ३६ रन खर्चेर ३, नन्दन यादवले ३४ रन खर्चेर २ तथा ललित राजवंशी र कुशल भुर्तेलले समान १–१ विकेट लिए ।
नेपाल र कतारको खेल
नेपालले बुधबार बिहान भएको पहिलो खेलमा कतारमाथि ८ विकेटको शानदार जित हासिल गरेको हो ।
आक्रामक ब्याटिङ गरेको नेपालले एक सय ५२ रनको चुनौती मात्र १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो ।
पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्ने क्रममा कुशल भुर्तेलले १९ बलमा ३८ तथा आसिफ शेखले २१ बलमा ३३ रन बनाए ।
त्यस्तै तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्ने क्रममा कप्तान रोहित पौडेलले २९ बलमा अविजित रहँदै ३७ तथा बसिर अहमदले ३३ बलमा अविजित रहँदै ३० रन बनाए ।
दुवै विकेट मुजिब उर रहमानले लिएका हुन् । यसअघि हङकङको मोङककमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको कतारले ५ विकेटको क्षतिमा १५१ रन बनायो ।
कप्तान इक्रामुल्लाह खानले ५४ बलमा ५४ बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राववंशीले १–१ विकेट लिए ।