तीनकुने घटनामा छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन [भिडियो]
आगामी दिनमा सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता राखेर उचित स्थानमा मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक प्रबन्ध मिलाउन सरकारलाई निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
654
Shares
काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे छानबिन समिति गठन गरी दोषीमाथि कानूनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । शुक्रवार सिंहदरबारमा बसेको समिति बैठकले सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।
सभापति विमला सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको बताइन् । उनले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको बताइन् । उनले आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको बताइन् ।
उनले सुरक्षा चुनौतीको विश्लेषणका आधारमा शान्ति सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाउनु पर्ने बताइन् । उनले उक्त घटनामा मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारको व्यवस्थालाई थप प्रभाकारी बनाउन सरकारलाई निर्देशन दिएको बताइन् ।
उनले भनिन्, ‘उक्त घटनामा आमनागरिकको जिउ धनको सुरक्षा गर्ने र राज्यले दरिलो सुरक्षा रणनीतिको निर्माण र नतिजामूलक कार्यान्वयनमार्फत देशमा शान्ति सुरक्षा तथा अमनचयनप्रति प्रत्याभूत गर्ने सबन्धमा राज्य पक्षको कमीकमजोरीहरू देखिएकाले आगामी दिनमा शान्ति सुरक्षासँग सम्बन्धित नीति तथा कानूनी सुधार गर्न सुरक्षा निकायसँग सम्बन्धित निकायलाई साधन स्रोत सम्पन्न र प्रविधि मैत्री बनाउँदै सङ्गठनात्मक र मानव स्रोतगत व्यवस्थापन परिणाममुखी बनाउन र अब उप्रान्त यस्ता घटनाहरू दोहोरिन नदिने गरी सुरक्षा चुनौतीको विश्लेषणका आधारमा अपेक्षित सुरक्षा व्यवस्थाको प्रबन्ध गर्न र अब उप्रान्त सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता राखेर उचित स्थानलाई मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक प्रबन्ध गर्न, घाइतेका निःशुल्क उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन एवं सो घटनामा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको देखिएकाले छानबिन समिति गठन गरी सत्य तथ्य पत्ता लगाउन र सो आधारमा दोषी देखिएका व्यक्ति वा संस्थाका उपर प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाहीको प्रबन्ध गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्ने निर्णय गर्ने भन्ने प्रस्ताव गरेको छु ।’
सभापति सुवेदीले आगामी दिनमा सुरक्षा संवेदनशीलतालाई उच्च प्राथमिकता राखेर उचित स्थानमा मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक आवश्यक प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको बताइन् ।