arrow

एक लाख ३४ हजार छ सय ७३ जना स्वास्थ्य बीमामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
health-insurance.jpg

बागलुङ । बितेका आठ वर्षमा बागलुङमा एक लाख ३४ हजार ६ सय ७३ जनाले स्वास्थ्य बीमा गराएका छन् ।

विसं २०७३ असारमा सुरु भएको स्वास्थ्य बीमामा हालसम्म जिल्लाका ५४दशमलव३९ प्रतिशत नागरिक आबद्ध भएका हुन् । जिल्लाको जनसङ्ख्या २०७८ को जनगणना अनुसार दुई लाख ४९ हजार दुइ ११ रहेको छ ।

यहाँका १० वटै स्थानीयत तहमा ६४ हजार १५३ परिवार रहेकामा हालसम्म ४० हजार ९ सय ४५ परिवारले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डका जिल्लास्थित कार्यालय प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए ।

हालसम्म ६७दशमलव६३ प्रतिशत घरपरिवार स्वास्थ्य बीमाको पहुँचमा रहेको उनको भनाइ छ । पौडेलका अनुसार ७१ हजार ८६ महिला र ६३ हजार ५ सय ६७ जना पुरुषले स्वास्थ्य बीमा गरेका छन् ।

सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोलाका नागरिकले स्वास्थ्य बीमा गरेका छन् ।

जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउन स्वास्थ्य बीमाका सामाजिक परिचालकलाई जिल्लाको ८५ वडामा खटाएको प्रमुख पौडेलले बताए ।

उनले भने, “बागलुङमा स्वास्थ्य बीमा ‘पाइलट प्रोजेक्ट’का रूपमा सुरु भएको थियो, पहिले नागरिकको चासो कम थियो, अहिले बढ्दै गएको छ ।”

निसीखोला गाउँपालिका-५ का प्रेमबहादुर पुनले दूरदराजमा स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको गुनासो गरे । 

स्वास्थ्य बीमा गरे पनि नजिकमा सुविधा लिने स्वास्थ्य संस्था नहुँदा घण्टौँ लगाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

“ज्वरो आयो भने स्वास्थ्य बीमाको सुविधा लिन बुर्तिबाङ जाँदा आउँदा पाँच-सात हजार खर्च लाग्छ, त्यही भएर गाउँकै स्वास्थ्य चौकीबाट औषधि लिएर खान्छु” पुनले भने, “गाउँकै स्वास्थ्य चौकीबाट स्वास्थ्य बीमाको सुविधा दिनुपर्ने हो, हामीहरू त स्वास्थ्य बीमा गर्ने सेवा नलिने मात्रै भइयो, सरकारले गाउँका स्वास्थ्य संस्थाबाट सेवा दिने व्यवस्था गर्नुपर्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ