काठमाडौँ । अमेरिकी फुटबल क्लब इन्टर मियामी नाटकीय कमब्याक गर्दै कोनकाकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा मियामीलाई लस एन्जलस एएफसी विरुद्धको दोस्रो लेगमा ३–१ को जित दिलाउन अर्जेन्टाइन स्टार लिओनल मेस्सीले दुई गोल गरे।
दुई लेगको समग्र नतिजा ३–२ ले इन्टर मियामीको पक्षमा रह्यो । पहिलो लेगमा १–० ले हार बेहोरेको मियामीलाई सेमिफाइनलमा पुग्न कम्तीमा तीन गोल गर्नु आवश्यक थियो ।
दोस्रो लेगमा आरोन लङले नवौँ मिनेटमा गोल गर्दै एन्जलसलाई शुरुआती अग्रता दिलाए । योसँगै मियामी समग्रमा २–० ले पछि परेको थियो । अवे गोल नियमअन्तर्गत एन्जलस बलियो स्थितिमा पुगिसकेको थियो । त्यसैले मियामीलाई अगाडि बढ्न कम्तीमा तीन गोल गर्न आवश्यक थियो ।
मेस्सीले पुनरागमन गोल गर्दै टिमलाई सेमिफाइनलमा पुर्याए । ३५औं मिनेटमा मेस्सीले १८ यार्ड बक्स नजिकबाट बाँया खुट्टाले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । मियामीको लागि उनको यो ४८ खेलमा ४१औँ गोल हो ।
६१औं मिनेटमा नोआ एलनले गोल गरे । यो गोलले समग्र नतिजा २–२ बनायो। तर एन्जलससँग अझै अवे गोलको फाइदा थियो। ६७औं मिनेटमा मेस्सीले लुइस सुआरेजलाई पास दिएर गोल गरे। तर अफसाइडको झन्डा उठेपछि त्यो गोल अमान्य भयो।
अन्ततः पेनाल्टी पाएपछि मेस्सीले सदुपयोग गर्दै गोल गरेर मियामीलाई सेमिफाइनलमा पुर्याए ।
मेसीको लागि यो जित सन् २०२२ को विश्वकप फाइनल सम्झाउने खालको बन्यो । त्यतिबेला उनले फ्रान्सविरुद्ध दुई गोल गरेका थिए, एक पेनाल्टीमार्फत र अर्को पेनाल्टी सुटआउटमा । संयोगवश दुवै खेलमा गोलकिपर हुगो लोरिस नै थिए।