रवि लामिछानेको पक्राउलाई लिएर मानव अधिकार आयोग पुग्यो रास्वपा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
885
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई प्रहरीले गरेको पक्राउबारे छानबिन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेको छ । बुधबार पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गरी सभापति लामिछानेको पक्राउ गैरकानूनी र मानवअधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै आयोगमा निवेदन दिएको जानकारी दिएको हो । कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछानेको पक्राउ अस्वाभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताए ।
उनले बिना अनुमति हातहतियारसहित प्रहरीको ठूलो सङ्ख्या सभापति लामिछानेको शयन कक्षसम्म पुग्नु असभ्यताको पराकाष्ठा भएको बताए । लामिछानेले आफैँ गिरफ्तारी दिने बताए पनि प्रहरीले धरपकड र जबरजस्ती बल प्रयोग गरेको बताए । उनले प्रहरीले मृत्युदण्डको समयमा सोधिने अन्तिम इच्छा के छ जस्ता असामान्य र आपत्तिजनक प्रश्नहरू गरेको बताए ।
उनले जिल्ला अदालतको कामकारबाहीमा अनुचित हस्तक्षेप गरी उच्च अदालतको आदेश कार्यान्वयन गर्नु सभापति लामिछानेको स्वच्छ अनुसन्धानको विरुद्ध रहेको बताए । प्रहरीले आततायी रूपले पक्राउ गरिएको भन्दै उनले स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक र वैयक्तिक गोपनीयताको हनन गरेको आरोप लगाए ।