गण्डकी प्रदेशमा स्वास्थ्य बीमितको संख्या ४९ प्रतिशत
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
662
Shares
गण्डकी । गण्डकी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममार्फत बीमितको संख्या ४९ प्रतिशत पुगेको छ ।
नवौँ स्वास्थ्य बीमा दिवसका अवसरमा स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रदेशको कुल जनसंख्या २४ लाख ६६ हजार चार सय २७ रहेकामा यही चैत २५ गतेसम्म बीमित हुनेको संख्या १२ लाख सात हजार एक सय ७२ पुगेको जानकारी दिइएको हो ।
स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खेरलले प्रदेशमा बीमित हुनेको संख्या सकारात्मक रूपमा अघि बढिरहेको बताउँदै आमसर्वसाधारणलाई बीमामा समेट्ने गरी प्रयास भइरहेको उल्लेख गरे ।
विश्वव्यापी रूपमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै अघि बढेको उल्लेख गर्दै उनले नेपालमा पनि यसलाई समयसापेक्ष सुधार गर्दै लगिएको जानकारी दिए।
नेपालमा स्वास्थ्य बीमाप्रति सकारात्मकभन्दा पनि नकारात्मक प्रचार गर्ने प्रवृत्ति कायम रहेको बताउँदै संयोजक खेरलले सकारात्मक सूचना प्रवाह गर्दै सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याए ।
गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक एवं गण्डकी प्रदेश स्वास्थ्य बिमा संयोजन समितिका सदस्य–सचिव डा रमेश केसीले विश्वमा एक सय ४२ वर्षअघिदेखि सुरु भएको स्वास्थ्य बीमा नेपालमा नौ वर्षयता सञ्चालनमा रहेको जानकारी दिए । शिशु अवस्थामा रहेको यस कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
सेवाग्राही, सेवा प्रदायक अस्पताल र स्वास्थ्य बिमा बोर्डको त्रिकोणात्मक समन्वय आवश्यक रहेको बताउँदै उनले यस कार्यक्रमको प्रभावकारितासँगै गुणस्तरीयता अभिवृद्धिमा जोड दिनुपर्ने बताए ।
उपचारमा आमसर्वसाधारणको सहज पहुँच पुर्याउन स्वास्थ्य बिमा कार्यक्रममा सबैलाई समेट्दै यसलाई अझै प्रभावकारी बनाउनु आवश्यक भएको उनको भनाइ छ ।
कार्यक्रममा मणिपाल शिक्षण अस्पतालका रवीन्द्र ठाकुर, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका विद्या बास्तोला, दृष्टि आई अस्पतालका शिव पोख्रेल, मातृ शिशु अस्पतालका ओम थापा, दर्ता अधिकारी गोमादेवी अधिकारी, प्रमिला पौडेल, तेजबहादुर दर्लामी, गौतमसिंह धामीलगायतले स्वास्थ्य बीमाको विद्यमान अवस्था, चुनौतीलगायत विषयमा आआफ्ना धारणा राखेका थिए । रासस