झापा । "सबै नागरिकको स्वास्थ्य बिमामा सहभागिता, सुरक्षित र स्वास्थ्य भविस्यको सुनिश्चितता" भन्ने मूल नाराका साथ नवौँ स्वास्थ्य बिमा दिवस झापामा पनि मनाइएको छ ।
स्वास्थ्य बिमा बोर्ड झापा जिल्ला सम्पर्क कार्यालय संयोजक लक्ष्मी कंडेलको सभापतित्वमा भद्रपुर नगरपालिका सभा हलमा विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कर्यक्रमका प्रमुख अतिथि झापा जिल्ला समन्वय समिति प्रमुख विश्वनाथ बरालद्वारा औपचारिक रुपमा उद्घाटन भएको कार्यक्रममा झापा जिल्लाको स्वास्थ्य बिमाको वर्तमान अवस्थाबारे दर्ता अधिकारी रुद्र गौतमले प्रस्तुति दिएका थिए ।
उक्त प्रस्तुति अनुसार झापा जिल्लामा सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति झापाका नागरिकको आकर्षण बढ्दै गएको पाइन्छ। आर्थिक वर्ष २०८०/८१ सम्ममा जिल्लाको कुल जनसंख्याको ६९.६७% जनसंख्या स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहँदै नेपालको सबैभन्दा बढी बिमित भएको जिल्लाको रुपमा झापा जिल्ला रहेको छ ।
आठ नगरपालिका र सात गाउँपालिका गरी १५ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०८०/८१ सम्म ६,९५, ३७५ जनाले स्वास्थ्य बिमा गराएका छन् । यस जिल्लामा सबैभन्दा बढी दमक नगरपालिका नागरिकले स्वास्थ्य बिमा गराएका छन् ।
स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्क अनुसार यहाँ १,११,०८० जना नागरिकले स्वास्थ्य बिमा गराएका छन् भने सबैभन्दा कम बिमित झापा गाउँपालिकामा १४,९७४ जना रहेको पाइन्छ ।
त्यस्तै लक्षित वर्ग समुहमा पनि धेरै नागरिकहरु यस कार्यक्रममा समावेश रहेको पाइएको छ । त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ जिल्लामा २६ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाहरु स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत रहँदै स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको तथ्यांक जिल्ला सम्पर्क कार्यालयसँग रहेको कुरा जिल्ला संयोजक लक्ष्मी कंडेलको भनाइ छ ।
यस नवौँ स्वास्थ्य बिमा दिवस मनाउन जिल्लामा आयोजना गरिएको कार्यक्रममा विभिन्न पालिकामा दर्ता सहयोगीको रुपमा रहेर कुशल र इमान्दारितापूर्वक कार्य गर्ने सम्पूर्ण दर्ता सहयोगीहरुलाई विशेष धन्यवाद दिँदै प्रत्येक पालिकाबाट सबैभन्दा बढी नागरिकको बिमा गराउन सफल दर्ता सहयोगीहरुलाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेहरुमा दमक नगरपालिकाबाट गोविन्दराज बस्नेत, बिर्तामोड नगरपालिकाबाट कमला चापागाईं, भद्रपुर नगरपालिकाबाट लिला काफ्ले, कन्काई नगरपालिकाबाट सबिना ढकाल, मेची नगरपालिकाबाट धनकुमारी न्यौपाने, अर्जुनधारा नगरपालिकाबाट निर्मल ढकाल, गौरादह नगरपालिकाबाट सिर्जना घिमिरे, शिवसतासी नगरपालिकाबाट यमकुमारी शिलवाल, हल्दिबारी गाउपलिकाबाट ओमप्रकाश आचार्य, बुद्धशान्ति गाउँपालिकाबाट मेनुका आचार्य, झापा गाउँपलिकाबाट बद्रि प्रसाई, कचनकवल गाउँपलिकाबाट इन्दुकुमारी सुबेदी, गौरिगंज गाउँपालिकाबाट दिपकप्रसाद यादव, बाह्रदसी गाउँपालिकाबाट पिंकी साह, कमल गाउपालिकाबाट अनिता शिवाकोटी रहेका छन् । त्यस्तै झापा जिल्ला कार्यालयमा रहेर २०७४ देखि कार्यालयका विभिन्न कार्यहरुमा अनवरत रुपमा सहयोग गर्ने भद्रपुर निवासी अजय सुबेदीलाइ समेत सम्मान गरिएको छ ।
दर्ता अधिकारी राधा रिमाल अधिकारीले संचालन गरेको र सुलोचना शाहको स्वागत मन्तब्य रहेको कार्यक्रममा उपस्थित अतिथिहरु जिल्ला स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकोटी, गौरादह नगर अस्पतालका प्रमुख हरि प्रसाद घिमिरे, भद्रपुर नगरपालिका प्रशासकीय अधिकृत सुनिल निरौला, ओम साइ पाथिभरा अस्पतालका प्रशासन प्रमुख दिप पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।