कचनकवलमा रेविज लागेको कुकुरले टोक्दा १२ घाइते, कुकुर नियन्त्रणमा आएन, खोप अभाव
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
885
Shares
तस्बिर – फाइल ।
झापा । कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं ६ मा तीन दिन यता कुकुरले टोकेर घाइते हुनेको सङ्ख्या १२ पुगेको हो ।
घाइते हुनेमा चार वर्षीया बालिकासहित चार महिला र आठ जना पुरुष छन् । पशु चौपायाको विवरण भने आउन बाँकी रहेको उनले बताए ।
कुकुरको टोकाइबाट घाइते भएकाहरुलाई बनियानी स्वास्थ्य केन्द्रमा आज बिहानदेखि रेविजविरुद्धको खोप लगाउन शुरु भएको छ । उनले केन्द्रमा रहेको खोपले एक पटक मात्र पुग्ने भएका कारण थप खोप कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँग माग गरिसकेको बताए ।
पालिकाका उपाध्यक्ष नवराज भट्टराईले कुकुर नियन्त्रणका लागि आज बिहानैदेखि पालिकाले कृषि र पशु शाखाका कर्मचारीसहित प्रहरी परिचालन गरिरहेको बताए ।