मैले आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन - कुलमान घिसिङ [भिडियो]
इमानदार राष्ट्रसेवक कर्मचारीलाई राज्यले हतोत्साहित र अपमानित गर्यो, राज्यको सम्पूर्ण शक्ति खनिएको जिकिर
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २२ शुक्रबार
733
Shares
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले राज्यले इमानदार राष्ट्रसेवक कर्मचारीलाई सरकारले हतोत्साहित र अपमानित गरेको आरोप लगाएका छन् । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले नेपालको कानुनले तोकिए अनुसार राष्ट्र सेवामा खटिएको कर्मचारीलाई राज्यको सम्पूर्ण शक्ति खनिएको जिकिर गरे । उनले आफूलाई अपमान गर्न सरकारका जिम्मेवार व्यक्तिले सार्वभौम संसद्को दुरुपयोग गरेको बताए । उनले आफूले पदमा बस्दा गरेको कुनै पनि कामबाट पछुतो गर्नुपर्ने स्थान नभएको बताए । पदीय दायित्वमा रहँदा अवसर र अधिकारलाई सदुपयोग गर्न आफूले समय खेर नफालेको उनको भनाइ छ ।
उनले भने, ‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक पूरा गर्ने क्रममा खटिरहेको राष्ट्र सेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित बनाउने दुराशय बनाउने सफल भएकोमा कतिपय व्यक्ति वा समूहले आफूलाई सफल भएको ठानेका होलान् । तर नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन । म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ । एक जिम्मेवार नागरिकको रूपमा मेरो काम कर्तव्य र अभिभारा कहिल्यै कम हुने छैन । नेपालको कानूनले निर्दिष्ट गरेको काममा खटिएको कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खनिएको थियो, कसको स्वार्थ र सेवामा ममाथि जाइ लागेको थियो भन्ने विषयमा नेपाली जनता आफैँ प्रस्ट हुनुहुन्छ । प्राधिकरणको कार्यकारी निर्देशकलाई गाली गर्न राज्यका जिम्मेवारका व्यक्तिहरूले नै सार्वभौम संसद्को रोष्टम कसरी सदुपयोग र दुरुपयोग गरे नेपाली जनता आफैले प्रत्यक्ष दर्शी हुनुहुन्छ । तर त्यसबाट म उत्तेजित र हतोत्साहित भएको छैन । किनभने एक जिम्मेवार कर्मचारीको रूपमा मैले आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन । अवसर र अधिकारलाई सदुपयोग गर्ने एकक्षण पनि खेर फालेको छैन ।’
निवर्तमान कार्यकारी निर्देशक घिसिङले निरन्तर घाटामा गएको विद्युत् प्राधिकरणलाई आफ्नो नेतृत्वमा अर्बौँ नाफामा लैजान सफल भएको दाबी गरे । उनले प्राधिकरणको सम्पत्ति तीन गुणाले वृद्धि गरी प्राधिकरणलाई आत्मनिर्भर बनाएको बताए । अधिकांश नागरिकको घरघरमा बिजुली सेवा उपलब्ध गराउनु आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि भएको उनको भनाइ छ । उनले स्थानीय निकायहरूसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी शहर उज्यालो बनाउने कार्यमा समेत प्राधिकरणले ठूलो लगानी गरेको बताए ।
उनले भने, ‘मेरो नेतृत्वमा प्राधिकरणले गौरवपूर्ण यात्रा तय गर्यो । निरन्तर घाटामा रहेको संस्था ऐतिहासिक नाफामा गयो, अर्बौँ रुपैयाँ कमाउन सफल भयो । प्राधिकरणको सम्पत्ति करिब ३ गुणा वृद्धि गरी आर्थिक र प्राविधिक रूपमा यसलाई सशक्त र आत्मनिर्भर बनाइयो । यो नाफा जनताकै सुविधा र विद्युत् पूर्वाधार विकासमा पुनः लगानी भएको छ । नेपाल सरकारले बजेट नै नदिएको अवस्थामा समेत प्राधिकरणले आफ्नै स्रोत र साधनबाट विद्युतीकरणको काम गरिरहेको छ । जनताको घरघरमा विद्युत् पुर्याउनु नै मेरो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि हो । सुकुम्वासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत् सेवामा पहुँच विस्तार गर्न निःशुल्क मिटर उपलब्ध गराएर विद्युत्को पहुँच बिस्तार गरिएको छ । विद्युतीकरणका लागि प्राधिकरणको आफ्नै स्रोतबाट ठूलो लगानी गरिएको छ । गाउँ बस्तीको विद्युतीकरण मात्र हैन स्थानीय निकायहरूसँगको साझेदारीमा स्मार्ट सडक बत्ती बिस्तार गरी सहर उज्यालो बनाउने कार्यमा समेत ठूलो लगानी गरिएको छ । जनतालाई उज्यालो दिनु नै राष्ट्रहित विपरीतको अपराध हो ? यसको जवाफ देश र समाजले अवश्य खोज्नेछ भन्ने मेरो विश्वास छ । मलाई हतोत्साहित गर्ने जति धेरै प्रयास भए पनि म आफ्नो कार्यकाल र भूमिकाप्रति भने असन्तोष हुनुपर्ने कुनै कारण देखेको छैन ।’
निवर्तमान कार्यकारी निर्देशक घिसिङले देशमा लोडसेडिङको अन्त्यदेखि प्राधिकरणलाई नाफामा लैजाने सम्मका कार्य इमानदारीपूर्वक गरेको बताए । जबाफदेहिता तथा नतिजामुखी नेतृत्वका कारण आफूले सफलता प्राप्त गरेको उनको भनाइ छ । उनले आवश्यक परे राष्ट्रसेवाको जुनसुकै भूमिकामा रहेर पनि आफूले देशका लागि योगदान गर्न सधैँ तयार रहेको बताए ।
उनले भने, ‘मैले प्राधिकरणमा रहेर लोडसेडिङ अन्त्य गर्नेदेखि, संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका कार्यहरू इमानदारीपूर्वक सम्पन्न गरेको छु । यी सबै कार्यहरू नतिजामुखी नेतृत्व र जबाफदेहितामा आधारित थिए । मेरो प्रतिबद्धता सधैँ जनताको सेवा प्रति समर्पित रहनेछ । राष्ट्र निर्माणमा जहाँ मेरो आवश्यकता पर्छ, त्यहाँ योगदान दिन म सदैव तयार छु । राज्यले दिएको जिम्मेवारी इमानदारी र निष्ठाकासाथ पूरा गर्दा मलाई केही स्वार्थी समूहबाट मेरो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी विगतबाटै प्रत्यक्ष÷अप्रत्यक्ष चौतर्फी रूपमा प्रहारका प्रयास भएका थिए । मलाई कमजोर बनाउन आगामी दिनमा समेत सोही किसिमका प्रहार हुनेमा म सर्तक र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु ।’
निवर्तमान कार्यकारी निर्देशक घिसिङले आफूले प्रभावकारी नेतृत्व, प्रस्ट भिजन र पारदर्शी विधिबाट कार्य गरेकाले सफलता प्राप्त गरेको बताए । उनले आफूले प्राप्त गरेको सफलताले जनताको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेकाले राज्यका अन्य क्षेत्रमा पनि लागू गर्नुपर्नेमा जोड दिए । एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निर्णयले क्षण भरमा संस्था लथालिङ्ग र भताभुङ्ग हुनसक्ने अवस्था रहेकाले सबैले खबरदारी गर्नुपर्ने बताए ।