राजावादीले जलाएको जडिबुटी केन्द्र छिटो सञ्चालन गर्न गृहकार्य
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
933
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले गत चैत १५ गते राजावादीहरुको हिंसात्मक आन्दोलनका क्रममा जलाइएको जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको निरीक्षण गरेका छन् । उनका साथमा काठमाडौँ क्षेत्र न २ की प्रतिनिधि सभा सदस्य सोविता गौतमसमेत रहेकी थिइन् ।
मन्त्री ठकुरी र सांसद गौतमले जडिबुटीस्थित प्रशोधन केन्द्र पुगेर जलेर भग्नावशेष भएका भौतिक संरचनाको अवलोकन गरेका थिए । चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुको आन्दोलनका क्रममा प्रदर्शनकारीले आगो लगाउँदा प्रशोधन केन्द्र भग्नावशेष बनेको हो ।
त्यहाँ रहेका सवारीसाधन जलाइएको थियो भने करोडौँको रुपैयाँ बराबरको क्षति भएको छ ।
सो अवसरमा प्रशोधन केन्द्रकी महाप्रबन्धक सङ्गीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएको भग्नावशेषको अवलोकन गराउँदै क्षतिबारे उनीहरुलाई जानकारी गराएका थिए ।
निरीक्षणपछि मन्त्री शाहीले छिटोभन्दा छिटो सञ्चालन गर्न गृहकार्य भइरहेको बताए । “प्राविधिक र विज्ञ राखेर छलफल गरिरहेका छौँ । रु १० करोड बजेट भए अस्थायी रुपमा सञ्चालन गर्न सकिन्छ । यसबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । चाँडै रकम उपलब्ध हुन्छ”, उनले भने ।
क्षतिबारे सहरी विभागले मूल्याङ्कन गरिरहेको र चाँडै पुनर्निर्माण प्रक्रिया अगाडि बढ्ने मन्त्री शाहीको भनाइ थियो । “उत्पादन बढाउने र रोजगारलाई सुनिश्चित गर्ने सवालमा हामी सबै प्रक्रिया पूरा गरेर पुनः शुरु गर्छौँ”, उनले भने ।
सांसद गौतमले आगो लगाउनेलाई सरकारले कानूनी दायरामा ल्याउनुपर्ने बताइन् । प्रशोधन केन्द्रलाई घना बस्तीबाट अन्यत्र सार्नुपर्ने उनको सुझाव थियो ।
प्रशोधन केन्द्रकी महाप्रबन्धक यादवले नयाँ उत्पादनको तयारी गरिरहेका बेला आगो लाग्दा ठूलो क्षति भएको बताइन् । उनका अनुसार उद्योगको दुई भवन र १३ गाडी जलेर क्षति भएको छ । रु २८ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको महाप्रबन्धक यादवले बताइन् । प्रशोधन केन्द्रका कर्मचारीले उत्पादन बन्द हुँदा बेरोजगार हुने मन्त्री शाही र सांसद गौतम समक्ष चिन्ता व्यक्त गरेका थिए ।