arrow

मेयर बालेनलाई खुलापत्र

logo
बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८१ चैत २१ बिहिबार
badri-pd-ojha-81-12-21.jpg

श्रीमान् प्रमखज्यू 
काठमाडौँ महानगरपालिका, काठमाडौँ
विषयः  सुझाव सम्बन्धमा
प्रस्तुत विषयमा आज २०८२ चैत्र २१ गते तपाईंको प्रमुख कार्यकारी अधिकृतले प्रहरीको घेरा तोडेर कार्यालय प्रवेश गरेको विषय सामाजिक सञ्चालमा लाइभ हेर्ने मौका पाएँ । 

म तपाईंको प्रशंसक मात्र नभई समर्थक पनि हुँ । यदि म काठमाडौँ बासी हुदो हुँ त चुनावका बेला तपाईंको प्रचारमा हिँड्थें । तपाईंँले चुनावमा २० हजार मत नघाएको खण्डमा पार्टी ख्वाउँछु भनेर बाजी राख्ने मेरा सहकर्मीले तपाईंले २१ हजार मत पाइसक्दा दिउँसै अजिर्ण हुनेगरी ख्वाएपछि सामाजिक सञ्जाल क्लब हाउसमा साह्रै ठूलो नेताको गोप्य सम्बन्धबारे बोलेर झण्डै जेल नै परेको थिएँ । धन्य ती नेताका समर्थक, माया गरे नत्र यतिबेला कुन मामाघरको छिँडीमा ध्यान गर्दै हुन्थेँ होला । मेरो छोरो कुन सरकारी स्कूलमा सर्न बाध्य हुन्थ्यो होला । माफ गर्नुहोला, अहिले सरकारी स्कूललाई शिक्षक मैत्री मानिन्छ, विद्यार्थी मैत्री होइन । मलाई सरकारी स्कूललाई मानहानि गरेको आरोप नलागोस् । एउटा सिधासाधा मान्छेको आँखाले हेरिदिनुहोला मलाई । 

अँ ध्यानभन्दा फेरि याद आयो । यो लेखका कारण तपाईं नरिसाउनु होला । एउटा समर्थकले दिएको सुझावका रुपमा लिनुहोला । मैले हिजो मात्र तपाईंको इमेलमा पठाएको प्रस्ताव रीसको झ्वाँकमा अस्वीकार नगरिदिनुहोला । मेरो बिन्ती । प्रस्ताव सार्वजनिक महत्वको छ ।

अँ फेरि प्रसंगमै फर्कौं । कर्मचारी एउटा संयन्त्रबाट आएका हुन्छन् । उनीहरुले संवैधानिक अंगबाट नियमित लिइने परीक्षा पास गरेर आएका हुन्छन् । उनीहरु सरकारका अंग हुन् भन्ने कुरो सबैलाई नै थाहा छ । 

एउटा सरकार प्रमुखका नाताले तपाईंले पनि बुझ्नु भएकै छ । एउटा असल मेयर नेतामात्र होइन, एउटा कुशल व्यवस्थापक पनि हो । मन नपरेको मानिसलाई कजाउँन नसक्नु व्यक्तिगत रुपमा तपाईंको मात्र गल्ती होइन । गल्ती हाम्रो शिक्षा प्रणालीको पनि हो, जसले तपाईं हामीलाई अर्को पक्ष अथवा विपक्षीलाई कजाएर खान सिकाएन । 

यदि हामी पनि अमेरिकी आईभी लिगका विश्वविद्यालयहरु जस्तै यल, हार्भार्ड, मासाचुसेट्स आदिमा पढेका भए यस्तो गुण विकास हुन्थ्यो । तपाईं हाम्रै दुर्भाग्य, शिल सिक्ने बेलामा हामी त्यस्ता विश्वविद्यालय तथा स्कूल कलेजबाट विमुख भयौं । 

अब मौका पाए पनि हाम्रो बानीमा खासै परिवर्तन आइहाल्छ भनेर किटान गर्न सकिँदैन । माफ गर्नुहोला मेयरसाब्, मेरो उद्देश्य तपाईंको शिक्षामाथि प्रश्न गर्ने होइन, बरु हाम्रोतिर खास गरी दक्षिण एसियाली शिक्षा पद्दतिमा विद्यार्थीको चौतर्फी विकासभन्दा पनि किताबको किरो बनाउने प्रणालीमाथिको प्रहार हो । 

हाम्रातिर अहिले पनि विपक्षीलाई निमिट्यान्न पार्नुपर्छ भन्ने अवधारणहरु आइरहेका छन् । यसको नजिकको उदाहरण अस्ति आयोजित राजापक्षधरको आन्दोलन पनि एक हो । आन्दोलनमा सहभागी एक युवकलाई पछाडिबाट गोली हानेको खबर सर्वत्र फैलिएको छ । यस विषयलाई अन्तर्राष्ट्रियकरण नै गर्ने समेतका विचार व्यक्त छन् । 

कतिपयले पश्चगमनका लागि आन्दोलन भएकाले पछाडिबाट गोली हानिएको भन्ने व्यंग्य पनि गरेका छन् । यो पनि विपक्षी कजाउँन नसक्ने व्यवहारको उदाहरण हो । हिजो निहत्थामाथि हतियार बजार्नेहरु नै अहिले बोलेका भरमा हतियार ताक्दैछन् । 

तपाईं युवा हुनुहुन्छ । सक्रिय हुनुहुन्छ । चालीसले नछुञ्जेल जोश पनि हुन्छ । शरीर फूर्ति पनि हुन्छ । मांशपेशी बलिया हुन्छन् । लडभिड गर्न पनि सकिन्छ । त्यो हुनु पनि पर्दछ । तर भोलि दुई कार्यकालपछि महानगरमा अर्कै मेयर ल्याउनुपर्दछ । 

अहिलेको व्यवस्थाले त्यही भन्छ । त्यतिबेला युवा उम्मेदवारलाई अलि उमेर खाएकाले पत्याएनन् भने युवाको मानमर्दन हुन्छ । अवसरबाट वञ्चित हुनुपर्दछ । उनीहरुका लागि मात्रै भए पनि अलि धैर्य बन्ने हो कि मेयर साहेब । 

अरु कुरामा मेरो टिप्पणी छैन । हुन त आज कार्यकारी अधिकृत आए । अब तलब खालान् । राम्रै होला । यदि भोलि फेरि तपाईंले यी कर्मचारीलाई प्रवेशमा रोक लगाउनु भयो भने उनी कहाँ जालान् ? सरकार तपाईंको पक्षमा छैन । उसले अर्को कर्मचारी पठाउला भन्न सकिँदैन । कति जनासँग लड्नुहुन्छ ? कति उर्जा खर्च गर्नुहुन्छ ? कतिजना कार्यकारी फेर्नुहुन्छ ?

अर्को कुरा केही कर्मचारी भ्रष्ट भए भन्ने जुन आरोप छ, त्यसमा सत्यता पनि छ । यदि मुटुमा हात राखेर भन्ने हो भने महिनामा पाँच अंकमा तलब खानेले कसरी काठमाडौँमा घर बनाउन सक्छ ?  खै म पनि १५–२० वर्षदेखि उनीहरुले भन्दा झण्डै डबल तलब खान्छु कहिल्यै ऋणमुक्त हुनसकेको छैन त । मात्र फरक म गैरसरकारी क्षेत्रमा काम गर्छु तर काम सरकारकै गर्छु । मात्र फरक मेरो कार्य क्षेत्रमा यसोउसो कमाइ हुँदैन । शुद्ध तलब, न यातायात खर्च वा साधन उपलब्ध हुन्छ । 

सांसदको तलबले खान नपुगेपछि मेरा एक मित्रले दोस्रो कार्यकालमा टिकटै मागेनन् । अवस्था यस्तो छ । 

होला कसैकसैको सदरमुकाममा पुर्खौली जग्गा होला । मधेसमा पनि जग्गाको भाउ बढेको छ । उताको बेचेर ल्याएका होलान् । तर सबैको सदुमुकाममा जग्गा हुँदैन । सबैले उता बेचेर यता किन्न सक्दैनन् । पहाडको गाउँको पाखो बारी वा ससना फोक्टा खेत बेचेर काठमाडौँमा खडेरी आउँदैन । मेरो बाले २०३२ सालमा १० हजारमा बेचेको पहाडको जग्गा ५० वर्षमा बल्लतल्ल १० लाखमा जाने भएछ । दूरदराजको जग्गाको यस्तो छ अवस्था । महिनाभरि कमाएको पैसा घर भाडा र बच्चाको फिसमै जान्छ । अनि कसरी घर बन्छ त ? 

बन्ने तरिका उही हो, यसो उसो कमाइ । नत्र किन राजश्व अधिकृतमा नाम निस्किँदा ढोल पिटेर पार्टी गरिन्छ ? किन अर्थमन्त्रालयका लागि पार्टीहरु मरिमेट्छन् ?  

जसरी भए नि कमाए भएन भन्ने सोच समाजमा व्याप्त छ । पति कमाइ हुने सरकारी सेवामा हुँदा पत्नि अमेरिकामा कमाइ गर्न गएका उदाहरण देखिएकै छ । कमाउन होइन, हिसाब मिलान गर्न ।  त्यो मोरो विदेशले पनि सरकारी कर्मचारीकै आफन्तलाई सजिलै भिसा दिन्छ  । मेरै एउटा साथी दाजु तातोपानी भन्सारको हाकिम भएका बेला अमेरिका हानियो । 

यताबाट हुण्डिहुँदै अमेरिका गएर अमेरिकाबाट बैंकमार्फत नेपाल पैसा आयो भन्ने उनीहरुमाथि आरोप लगाइन्छ । सबै दाजुभाइका काठमाडौंमा घर छन् । अब कसले प्रश्न गर्नसक्छ उनीहरुलाई ? अझ दैनिक तीन लाख मन्त्रीलाई बुझाउँने शर्तमा त्यो पद पाएको अरे भन्ने हल्ला थियो गाउँमा, ऊ बेला । 

अर्को एउटा साथी भने नराम्रो गरी फस्यो । विदेशबाट भाइले पैसा पठाइदिएछ । घर बनायो । श्रीमतीको फुरफुर बढेर खपी नसक्नु । उम्लिए पोखिन्छ भने झैं भो । दश हजार डलर बैंकबाट पठाउँदा सय डलर बराबर एक हजार नेपाली कट्टा गर्दोरहेछ । यस हिसाबले हजार डलरको १० हजार गयो । दश हजारको त लाखै गयो । बैंकबाट ल्याउँदा भन्दा हुण्डीबाट बढी पैसा पाइन्छ भनेर अर्को पटक मगाएछ, अहिले अख्तियारले कर्यापझ्याप पारिदियो । 

हुण्डीबाट पठाएर बैंकमार्फत फिर्ता ल्याउने टेस्लामा सररर..भाइले मरेर कमाएको पैसा हुण्डिबाट ल्याउँदा जेलको हावा सररर... । उता पठाउने देशमा भने हुण्डीलाई वैध मानिने रहेछ । पठाउनेले वैध रुपमा पठायो, पाउनेले अवैध रुपमा पायो, यस्तै छ देशको हालत । 

अब कति जनासँग लड्नु हुन्छ मेयर साब ।

सितिमिति कर्मचारीले नियम मिचेर काम गदैन । नियम नमिचेकै कारण उनीहरु भ्रष्टाचारमा नपरेका हुन् । यसोउसो कमाइ गर्दा सरकारलाई खासै मार्दैनन् । बरु सेवाग्रहीबाट असुल्छन् । 

भन्सारमा भने सरकारलाई पनि मार्छन् भन्ने सुनेको छु । यसबारे म स्वयंले भने अनुसन्धान गरेको छैन । बीस वर्षअघि एक पटक मुम्बईबाट आउँदा आफन्तले उपहार दिएका दुईवटा अचार पिस्ने मिक्सचर मेसिन ल्याएको थिएँ । 

त्यतिबेला अन्नपूर्ण पोस्टमा जागिर खान्थें । कार्ड देखाउँनै खोजेको चाहीं होइन तर झोला छामछुम गर्दा सरकारले प्रदान गरेको प्रेस कार्ड भेटियो । ए पत्रकार हुनुहुँदो रहेछ, भन्सार नतिरी लानुहोस् भने, कर्मचारीले । जाबो पाँच सयका लागि किन बिक्नु भन्ने इगोले भन्सार तिरेर  बकाइदा बिलसहित ल्याइयो । 

त्यसका १०–१२ वर्षपछि अमेरिकाबाट एउटी साथीले हुलाकमार्फत पठाइदिएको आंैलाजत्रो आइपोड र वेबक्याम लिन भने  दुई सय घुस दिँदा पनि हजार तिर्न वाध्य भएँ । नत्र एक सय २५ डलर मूल्य ट्याग रहेकाले त्यसको ३३ प्रतिशत लाग्छ भन्थे भन्सारका कर्मचारी ।

 त्यतिबेला डलरको भाउ ७० थियो । सो अनुसार पनि मैले दुई हजारभन्दा बढी नै तिर्नुपर्ने थियो । हुन त ती कर्मचारीले भन्सार नकाटी दिन पनि सक्थे, कारण त्यस्ता समानको भन्सार लाग्दैन भन्ने सुनेको थिएँ तर दिन चाहेनन् । अझ पोकोमा भएको सीडी चक्कालाई पनि भन्सार लाग्छ भन्ने तर्क गरे । यो चक्का तपाईंनै लानुहोस् वा उतै फर्काइदिनुहोस् भनिदिएँ । पछि दिए । 

यसरी मन नै लगानी दुई सय नै मात्रै भए पनि घुस ख्वाएको छु, मैले पनि । त्यो पनि १५ दिनसम्म कुरेर । म त्यो चिज लिनेवाला थिइँन तर मेरी साथीले चित्त दुखाइन् । बरु तिमीलाई ४० डलर पठाइदिउँला मेरो उपहार बवारिसे नबनाउ भनिन् । 

मैले बाध्य भएर दिनको त्यस्तै १० हो कि २० कतिका दरले हो समान अफिसमा राखेको भाडासहित भन्सार रकम र अलिकति घुस बुझाएँ । दुईसय दिँदा हजार जोगियो । सरकारलाई हजार घाटा लागे पनि मलाई आठ सय नाफा भयो । 

मैले जानेर र मन नलागी नलागी घुस ख्वाएको चाहीं यो पहिलो पटक हो । यसअघि ससना कुराका लागि पनि एक दुईपटक ख्वाएको छु तर त्यो मैले जानेर नभई राजीखुशीले खाजा खाने पैसा दिएको हुँ । आखिर मैले मम ख्वाएको भए नि जान्थ्यो, त्यति पैसा । 

एक पटक यातायात  कार्यालयमा साथीको लाइसेन्स रिन्यु गर्ने फारम किन्दा लाग्ने एक रुपैयाँवापत कर्मचारी पाँच रुपैयाँ लिँदा मैलै विरोध जनाएँ । कर्मचारीले खुद्रा लिएर आउनुहोस् भनेर हलो हड्काए । 

अर्का बुज्रुकले ल म तपाईंलाई चारको सट्टा १० दिउँला यहाँ हल्ला नमच्चाउनुहोस् भन्ने अर्ति दिएपछि चार रुपैयाँ माया मारेर हिँडेको पनि याद छ, मलाई । 

मेयरसाब तपाईं आफैं पनि सरकारी कर्मचारीको छोरो भन्ने सुनिएको छ । गुगलमा सर्च गर्दा तपाईंको पिताजीको नामअघि डाक्टर लेखेको भेटियो । चिकित्सक हो वा दर्शनशास्त्री भन्ने चाहिँ यकिन भएन । विद्यावारिधि गरेकाहरुले पनि डाक्टर लेख्छन् । मलाई यस्तो लेखेको खासै मन पर्दैन । 

सरकारी दानापानीमै हुर्केको भनेर बेकारमा तपाईंमाथि आरोप लगाउलान् । सराप्लान् । छोडिदिनुहोस् , यस्तो हठ । आखिर तपाईंले गरेको राम्रो काम सबैले देखेकै छन् । अर्को चुनावमा बत्तीसै वडामा तपाईंलाई सहयोग गर्ने उम्मेदवार उठाएर जिताएर काठमाडौंका नदीहरु सफा गर्ने योजना छ भन्ने सुनेको छु, काठमाडौंबासीको ।  यो कति खुशीको कुरा हो । यसो भए हामी ललितपुरबासी पनि धन्य हुने थियौं ।
 
अस्ति म दक्षिण ललितपुरको डुकुछाप गएको थिएँ । त्यहाँ रास्वपाका एउटा साथीले लगेका थिए । किसानको कायक्रममा म पार्टी नहेरी जान्छु । उनको भाषण सुन्न गएको हो । उनले भाषण गरिसकेपछि मलाई राजनीतिमा खासै चासो नलाग्ने भएकाले वरिपरिको वातावरण अवलोकन गर्ने निस्कें । कार्यक्रमस्थलबाट लगभग पाँच सय मिटरको दूरीमा बागमती थियो । गनाएर बस्नै नसकिने । यहाँ हामीले गरेको फोहरले ललितपुर र मकवानपुरका जनतालाई हैरान छ । 

अस्ति बीपी हाइवे बन्द भएका बेला मदनभण्डारी राजमार्गबाट हिँड्दा थाहा पाएँ, पर बकैयासम्म पनि वागमतीको पानी गनाउँने नै हुँदो रहेछ । सर्लाहीमा भने सफा देखें । म कामका सिलसिलामा देशका सबै जिल्ला पुगेको छु । पालिकाको हिसाबले पनि लगभग पाँचसय प्लसमै पुगेको हुँला । त्यसैले कतिपय कुरा मलाई जानकारी छ ।

कमेसकम तपाईंलाई सहयोग गर्ने वडाध्यक्षहरुले जिते भने बागमती, विष्णुमती, रुद्रमती आदिका करिडर रोडहरुमुनि ढल मात्र हालिदिनुभए यहाँका मात्र होइन उहाँका जनतालाई पनि स्वास्थ्य लाभ हुने थियो । 

आठ मिटर भन्दा साना सडक स्थानीय सरकारका हुने प्रावधानले तपाईंलाई करिडर रोड बनाउने सुविधा प्रदान गर्छ जस्तो लाग्छ । मुनि ढल हालेर माथि कंक्रिट गर्न सकिन्छ होला जस्तो लाग्छ । तपाईं स्वयं इन्जिनियर भएकाले बढी जानकारी पक्कै छ । 

अर्को कुरा मेरा एकजना मित्रले अमेरिकाबाट बारम्बार एउटा प्रस्ताव राख्छन् । कुरो के भने अहिले फोहर पानी र सहरी फोहरबाट बिजुली र ग्यास सहितको पेट्रोलियम पदार्थ उत्पादन गर्न सकिने रहेछ । 

यसका लागि पाँच अर्बजति लाग्ने रहेछ । त्यसको ७० प्रतिशत अथवा करिब लगभग तीन अर्ब ८० करोड जति कम्पनी आफैंले लगानी गर्छ अरे । दैनिक एक हजार टन फोहोर चाहिने रहेछ । 

बरु यस्ता काममा लाग्नुहोस्, हामी पनि साथ दिन्छौं । कर्मचारीसँग निहुँ नखोज्नु होस् । उनीहरुको पहुँच सबैतिर हुन्छ । तपाईंलाई दुख दिन पनि सक्छन् । भ्रष्टाचार गरे हेर्ने निकायको कमी छैन । तपाईं किन अछुतो बन्नुहुन्छ मेयरसाब । कृपया चित्त नदुखाउनु होला । 

मेरो कुरालाई एउटा शुभचिन्तकको सुझावका रुपमा लिनुहोला । पृथ्वीनारायण शाहलाई पनि बिसे नगर्चीले सल्लाह दिएको तपाईंलाई थाहै छ । बरु मेरो प्रस्तावमाथि विचार गरिदिनुहोला । 
विनित
बद्रीप्रकाश ओझा । (लेखक नेपाली किसानको सिक्ने क्षमता विषयमा पोस्टडक्टरल अनुसन्धानकर्ता हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ