arrow

खत्याडीबासीले अँध्यारोमा देखेको सपनाः बनेन बिरा बगर जलविद्युत आयोजना 

logo
नृपेन्द्रबहादुर मल्ल,
प्रकाशित २०८१ चैत २१ बिहिबार
hydro-bira-bagar-mugu.jpg

मुगु । कर्णाली प्रदेशकै अति विकट मानिने हिमाली जिल्ला मुगुको पश्चिमी खत्याडी क्षेत्रमा बिजुली बत्ती बाल्ने जनताको सपना अझै अधुरै छ । १८ महिनामा सम्पन्न गर्नुपर्ने बिरा बगर जलविद्युत आयोजना स्थापनाको दश वर्ष पूरा हुँदा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

खत्याड गाउँपालिकामा हालसम्म विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छैन। ‘हामी खत्याडबासीले कहिले बिजुली देख्न पाउने ? बिरा बगर आयोजना वर्षौँ भइसक्यो, अझै पूरा भएको छैन । हाम्रा सपना अधुरै हुने भए,ू खत्याड ३ रोलका स्थानीय गोकर्णबहादुर शाहीले गुनासो गरे ।

बिजुली नहुँदा गाउँमा सानातिना उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको छ । विद्युत अभावकै कारण खत्याड भेगमा सञ्चार सेवासमेत प्रभावित छ, कतिपय बस्तीहरू सञ्चार पहुँच बाहिर नै रहेको स्थानीय कबिराज कार्कीले जानकारी गराए । 

खत्याडमा इमेल, इन्टरनेट परको कुरा भयो, चाहेको ठाउँबाट फोन गर्न समेत नसकिने अवस्था छ,” कार्कीको भनाइ छ । यो समस्या केवल शाही र कार्कीको मात्र नभएर खत्याडीबासी सबैको साझा पीडा हो ।

खत्याडी भेगका १ देखि ११ वडाका करिब ५ दर्जन बस्तीका ४ हजार २ सय घरधुरीलाई लक्षित गरी बिरा बगर जलविद्युत आयोजना स्थापना गरिएको थियो। 

२०६९ सालमा परियोजनाको डीपीआर तयार गरिएको थियो भने २०७४ साल चैत ५ गते उत्पादन तर्फ र २०७५ भदौ ६ गते वितरण तर्फ बोलपत्र आह्वान गरिएको थियो ।

२०७५ मंसिर १५ मा उत्पादनतर्फ मेगा फेवा जेभी र प्रसारणतर्फ कस्मिक इलेक्ट्रोनिक्ससँग १८ महिने ठेक्का सम्झौता गरिएको खत्याड गाउँपालिकाले जनाएको छ। 

तर कोभिड १९ महामारी र २०७९ असोजमा परेको भीषण वर्षाका कारण आयोजनाका संरचनाहरू पहिरोले बगाएपछि पुनः निर्माण गर्नुपर्ने भएकाले ढिलाइ भएको गाउँपालिका अध्यक्ष अजबहादुर शाही बताउँछन् । 

अध्यक्ष शाहीका अनुसार विद्युतको मुहानको काम बाहेक अरू सबै काम सकिएकाले अबको दुई महिनामा २०८१ जेठ सम्म बिरा बगर जल बिद्युत आयोजनाको सबै काम सम्पन्न हुने र  खत्याडी जनताको वर्षौंदेखिको बिजुली बत्ती बाल्ने सपना पूरा  हुने छ ।

आयोजनाको कुल लागत २७ करोड ५५ लाख ८ हजार २ सय ५४ रुपैयाँ रहेको छ भने यसको कुल विद्युत उत्पादन क्षमता ५०० किलोवाट बताइएको छ।

यस आयोजनाका लागि एसियाली विकास बैठकको अनुदान, माछापुच्छ्रे बैंकको १० प्रतिशत ऋण तथा सहकारीको १० प्रतिशत आन्तरिक व्यवस्थापन गरी कूल लागत जुटाइएको छ। 

विकास र समृद्धिको मुख्य आधार बिजुली भएकाले आयोजना छिटो सम्पन्न भई खत्याडीबासीले दशकौँदेखिको सपनालाई साकार पार्ने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ