काठमाडौँ । वायु प्रदूषणका कारण अहिले स्वास्थ्य निकै बिग्रदै गइरहेको छ । स्वासप्रश्वासमा ठूलै समस्या निम्तिरहेका बेलामा आँखाको समस्या पनि उत्तिकै थपिएको छ । आँखा रोग विशेषज्ञहरुका अनुसार पछिल्लो समय आँखाको समस्या लिएर अस्पताल पुग्ने बिरामी उल्लेख्य रहेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जकी सहप्राध्यापक डा रञ्जु खरेल सिटौलाले अस्पतालमा आँखाको समस्या लिएर अस्पताल आउने बिरामी ह्वात्तै बढेको बताइन् ।
उनले वायु प्रदूषण बढेसँगै आँखाको समस्या लिएर आउने बिरामीको संख्या पनि बढिरहेको बताइन् । विशेष गरी आँखा पोल्ने, चिलाउने, बिझाउने, कचरा आउने, आँखा रातो हुने, धमिलो देखिने, आँखा सुख्खा हुने लगायतका समस्या लिएर बिरामीहरु अस्पताल आउने गरेको बताइन् ।
यो सिजन पनि आँखालाई समस्यामा पार्ने सिजन रहेको उनले बताइन् । विशेष गरी चैत वैशाख महिनामा धुलो धुवाँ पनि बढ्ने गर्दा खाँखाको समस्या लिएर आउने बिरामी बढ्ने गरेका हुन्छन् ।
तर हाल एयर क्वालिटी इन्डेक्स (एक्यूआई) समेत निकै नै खराब रहेका कारणले पनि काठमाडौँ उपत्यकाबासीले आँखाको समस्या खेप्नु परेको हो ।
अत्यावश्यक परे बाहेक अहिले घर बाहिर निस्कनु उपयुक्त नहुने उनको सुझाव छ । बाहिर निस्कनै परे आँखा छोप्ने गरी सनग्लास लगाउन पनि उनले सुझाव दिइन् ।
डा सिटौलाले विगत हप्ता १० दिनदेखि वायु प्रदूषणसँग सम्बन्धित गुनासो लिएरै बिरामीहरु बढी अस्पतालमा आउने गरेको बताइन् । उनले भनिन्, ‘आँखा पिरो भयो, आँखामा के बिझायो, चिलायो, सुख्खा भएर आउने बिरामीहरु एकदम बढ्दो भएको छ ।’
उनले अगाडि भनिन्, ‘प्रायः जाडोयाम सकिएर गर्मीयाम शुरू हुने बेलामा हावाहुरीले सुख्खापन हुने मौसमचाहिँ हो यो फागुन चैतमा । त्यतिखेर पानी राम्रोसँग पर्न नपाएर काठमाडौँमा जुन एयर क्वालिटी इन्डेक्समा गडबड भएको छ त्यसले गर्दा अहिले आँखाको समस्या चाहिँ वायु प्रदूषणकै कारणले नै भन्ने हाम्रो बुझाइ छ ।’
उनले अहिलेको वातावरणमा धेरै नै हानिकारक रसायनहरु फेला पर्नेसमेत बताइन् ।
डा सिटौलाले यसले बिरामीलाई तत्काल नै समाधान हुने वा दीर्घकालसम्म रोगी बनाइराख्ने असर पाइएकोसमेत बताउँदै भनिन्, ‘नाइट्रोजन अक्साइड, कार्वनडाइअक्साइड, सल्फरडाइअक्साइडको मात्रा सूर्यको किरणमा एक्सपोज हुँदा त्यसबाट निस्कने केमिकल रियाक्सनबाट हानिकारक कम्पाउण्ड बन्छ । त्यसले आँखालाई अल्पकालीन र दीर्घकालीन असर गरेको पाइरहेका छौँ हामीले ।’
उनले तत्काल देखिएको प्रभाव र दीर्घकालीन असरबारे यसरी बताइन्, ‘तत्काल देखिनेमा चाहिँ आँखा रातो हुने गरेको छ । पहिले पहिले आँखा रातो नहुनेको पनि अहिले आँखा रातो हुने गरेको छ ।
चिलाउन मन लाग्ने, हात लगेर चिलाएर आँखाको नानीहरुमा सानो घाउहरु गराउने, कसैको एकदमै आँशु बगेको बग्यै हुने इरिटेशनले गर्दाखेरी, कसैको आँखा टट्टयाउने, सुख्खापन भएको र सीमित व्यक्तिहरुले आँखा कस्तो पहिलेजस्तो छैन अलि धमिलो बढेको छ हिजोआज आँखामा केहीले ढाकेको जस्तो भनेर पनि भन्नुभएको छ । यो सबै प्रदूषणका कारणले हो । आँखाको सतहमा आएको परिवर्तनले गर्दा नै यो भएको हो । यो सबै छोटो समयका लागि हुने असरमात्रै हो ।’
डा सिटौलाले यही प्रक्रिया लामो समयसम्म रहने हो भने यसले दीर्घकालीन असर गर्ने दाबी गरिन् । उनले भनिन्, ‘यही किसिमको वातावरणीय प्रदूषण भयो भने दीर्घकालमा हाम्रो आँखालाई पनि अरु असरहरु हुन सक्छ । जस्तो– मोतीबिन्दु हुन सक्छ । सुख्खापनको दीर्घकालीन असर हुन सक्छ । त्यसमा हामी सचेत भएर बस्न जरुरी छ ।’
बिरामी अस्पतालमै जानुपर्छ कि घरेलु विधि पनि अपनाउन सकिन्छ ?
डा सिटौला भन्छिन् – हाम्रो पहिलो कुरा भनेको त हामीले आत्तिहाल्नुपर्ने समस्या होइन । तर सचेत हुनैपर्छ । पहिलो कुरा त हामीले आँखालाई घरमै सफा गर्ने, घर बाहिर सकेसम्म कम निस्कने गर्नुपर्छ ।
निस्कन पर्दा पनि सुरक्षित चस्माको प्रयोग गर्ने । सुरक्षित अल्ट्रा भ्वाइलेट सन ग्लास लगाएर निस्कनु पर्यो । घरभित्र हामीले बाहिरबाट आउन बित्तिकै राम्रोसँग पखाल्ने र त्यो बाहेक सुख्खापन, रातो एलर्जी आइसकेपछि त्यसका लागि चाहिने आँखाका थोपा औषधिहरु लगाउनु पर्ने हुन्छ । सुख्खापन हुँदा बजारमा पाइने आँखाका लुब्रिकेटिङ आइ ड्रप्सहरु हुन्छन् । लुब्रिकेटिङ आइड्रप्सहरु चाहिँ हामीले बिना परामर्श पनि घरमा बसेर प्रयोग गर्न सकियो । एक थोपा दिनमा तीनदेखि चार पटक ।
तर आँखा चिलाइरहेको छ, आँखामा एलर्जी सँगसँगै सेकेन्डरी इन्फेक्सन्सहरु चिपाहरु पनि बस्ने भएको छ भने त्यस्तो अवस्थामा सम्बन्धित आँखा उपचार केन्द्रमा गएर आँखाका डाक्टरहरुसँग मेशिनबाट जाँच गरेर एलर्जी छ भने एलर्जीको थोपा औषधि दिन्छौँ । एलर्जीको पनि हाइग्रेडको भए अलिकति कडा औषधि दिनुपर्ने हुन्छ ।
कति जनाको त आँखामा धुलोहरु टाँसिएर बसिरहेको पनि हुन सक्छ । घाउ बनाएको पनि हुन सक्छ । त्यस्तो बेलामा आँखाको फोहर निकालेर सफा गर्नु पनि हुन सक्छ । तसर्थ प्राथमिक आँखा सफा गर्ने, लुब्रिकेटिङ आइ ड्रप राख्न मिल्यो भने बाँकी कुराका लागि अस्पतालमै जानुपर्छ ।
कस्तो अवस्थामा घरमै उपचार, कस्तोमा अस्पताल जानैपर्छ ?
जसरी आँखाको दुई समय दिइएको छ त्यसरी नै सामान्य र जटिल अवस्था गरी सामान्य अवस्थामा घरमै बसेर उपचार गर्न सकिने र जटिल अवस्थामा अस्पतालमै गएर उपचार गर्नुपर्ने डा सिटौलाको भनाइ छ ।
उनी भन्छिन्, ‘मेरो सुझावमा आँखा टट्टयाउने, बिझाउने मात्र भएको छ भने घरमै बसेर लुब्रिकेटिङ आइड्रम्प र आँखा सफा गर्दा पुग्छ । एलर्जीको पनि सामान्य एलर्जी छ भने आइस वा चिसोले सेकेर जाने हुन सक्छ भने घरमै बसेर गर्न सकियो । कारक तत्वबाट जोगिने र आइ ड्रप, कृत्रिम आँशुको थोपा लगाउनु जरुरी छ । त्यसबाहेक आँखामा चिप्राजस्तो आइरहेको छ, आँखालाई केहीले ढाकेजस्तो भइरहेको छ, दृष्टिमा कम भइरहेको, नानीमा घाउ भएर उज्याले हेर्न सकिरहेको छैन भने त्यस्तो अवस्थामा अस्पताल जानु नै सही हुन्छ ।’
प्रदूषण घट्ने छाँट छैन अब के गर्ने ?
वर्षा नहुँदा र दिनहुँ प्रदूषणजन्य सामग्रीको प्रयोग गर्दा वायु प्रदूषण भयावह बन्दैछ । वायु प्रदूषण अझै केही समय लम्बिने दाबी वातावरणविद्हरुले गर्दै आएका छन् । यस्तो बेलामा आँखा जोगाउन पनि समस्या नै भइरहेको छ ।
यो अवस्थालाई आँकलन गर्दै डा सिटौला भन्छिन्, ‘हाम्रो आँखाको सीधा असर प्रदूषणसँग जोडिएको छ । हामीले सतर्कता अपनाउने र प्राथमिक उपचार नै हो । आँखाको सुरक्षा, खानपिन र आयाम व्यायामलाई ध्यानदिनु बाहेक हामीसँग विकल्प छैन । पानी पर्यो भने प्रदूषणको सतह कम हुन्थ्यो होला । विकिरणहरु अझै लम्बिने भनिरहेको छ भने त्यतिखेरसम्म जोडिने उपाय नै अपनाउनु पर्छ । धुलोमा कम देखिने, चस्मा लगाउने, बाहिरबाट आउनासाथ मुख धुने लगायतका उपायहरु अपनाइरहने गर्नुपर्छ । साथै परेका खण्डमा लुब्रिकेटिङ आँसुको औषधि लगाएर बस्नु उपयुक्त हुन्छ ।’