काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गियर बढाउनुपर्ने बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सधैँ निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने उनको भनाइ छ ।
सरकारले आशाका किरणहरू दिन नसकेको उनको आशय थियो । उनले संसद्को हिउँदे अधिवेशन कानून निर्माणमा केही हदसम्म सफल भएको समेत बताए । उनले संसद अवरुद्ध पारेर बन्धक बनाउने परिपाटी केही हदसम्म कम भएको बताए । उनले आफू हिन्दु धर्म मान्ने भए पनि सबैलाई अट्ने र सबैलाई समेट्ने राज्य बनाउन जरुरी रहेको समेत बताए ।
उनले भने, ‘सधैँ निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन । आशाका किरणहरू दिन सफल हुनुपर्छ । अहिले सरकार जुन गतिमा गएको छ त्यसमा सबैको चित्त बुझेको छैन । अब गियर परिवर्तन गर्नुपर्यो । जुन गियर छ त्योभन्दा माथि गेयरमा जानुपर्यो। म आफू पनि हिन्दु धर्म मान्छु । सबै अट्ने नेपाल बनाउनुपर्छ, सबैलाई समेट्ने नेपाल बनाउनुपर्छ । म त्यो पक्षमा छु ।’