arrow

रहेनन् कोइराला परिवारका एकमात्र कम्युनिष्ट नेता एवं वरिष्ठ पत्रकार कमल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १८ सोमबार
kamal-koirala-81-12-17.jpg

काठमाडौँ । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमलप्रसाद कोइरालाको निधन भएको छ । केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा ८७ वर्षको उमेरमा आइतबार साँझ मृत्यु भएको हो । 

पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए । कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गरेका थिए । 

उनले पछिल्लो समय साँघु साप्ताहिकमा लेख्दै आएका थिए । उनको अन्तिम लेख साँघुले गत चैत ११ गते प्रकाशित गरेको थियो । 

उनी निकै रसिला किसिमका पत्रकार थिए । उनले जीवनलाई निके सरल र सहज ढंगले लिएको पनि पाइन्थ्यो । सामाजिक सञ्जालमा निकै सक्रिय उनले अन्तिम पटक गत मार्च २५ अर्थात् चैत १२ गते पोष्ट गरेका थिए । 

मदिरा नभइनहुने उनले चैत ९ गते त्यस्तै एउटा स्टाटस फेसबुकमा राखेका थिए । 

उनले लेखेका थिए – ‘सबैकुरा अरुले भन्दा छोड्न सकिएला तर साँझ एक दुई पेग पिउन र दुई तीन गाना सुन्न छोड्न सकिएन । खुशी छु ८७ मा आशा गर्दैछु ८८ मा पनि ।’

उनको यो ८८ को आशा भने पूरा हुन पाएन । 

त्यस्तै त्यसको एक दिन अगाडि उनले ठट्टउलो पारामा फेसबुकमा लेखेका थिए, ‘बुढो भएछु जस्तो लाग्न थाल्यो ८७ वर्षमा घरबाट निस्कनासाथ नोबेल एकेडेमी पढ्ने केटीले भनिन् अंकल बाटो हिँड्न साथ दिउँ । धेरै धन्यवाद भनेँ । अनि टेम्पो चढेर हिडेँ । उत्रेर हिँड्न लाग्दैथिएँ अर्को अपरिचित महिलाले भन्नुभयो म रोडक्रस गराइदिन्छु ।’

 पूर्वसांसदसमेत रहेका दिवङ्गत कोइरालाको सोमबार बिहान ११ बजे नेकपा एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ