१५ चैत २०८१, कालो शुक्रबारे हत्याकाण्ड र यसका नाइकेहरुको जसरी विरोध जनाइन्छ नि उसैगरी गणतन्त्रमा भ्रष्टाचार र सर्वसत्तावादको श्रीपेच पहिरिएका नवराजाहरुको पनि आलोचना गरिन्छ । लौ पढौँ कहानी ।
१. लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको साँचो तिमी श्री ३ (कांग्रेस, एमाले र माओवादी) लाई बानेश्वरमा जनताको बीचमा आइन्दा २०५१–०६२ को जस्तो भ्रष्टाचार, विभेद, व्यक्तिहत्या, दूराचार गर्दैनौँ भन्ने कसम खुवाई खुवाई नागरिकले सुम्पिएका हुन् ।
२. तिम्रा आन्दोलनले रत्नपार्कको घाम तापिरहेको र व्यक्तिहत्याले सत्यानाश भएर पेरुको साइनिङ पाथको नियति भोग्न लागेका बेला सुध्रने कसमपछि सात दल र माओवादीलाई जनताले शासनाधिकार नासोका रुपमा जिम्मा लगाएका हुन् । बिचौलियासँग लहसिएर विकृतिको आडमा सर्वसत्तावादको पहाड ठड्याउन होइन ।
३. २०६३–२०७२ सम्म जे जस्ता मिलिजुली-सर्वदलीय सरकारका नाममा भागबण्डा गरेर राज्यशक्तिको दोहन गर्यौ त्यसमा कमसे कम संविधान जारी गरुन् र त्यसपछिका निर्वाचनबाट सही बाटो समात्लान् भनेर नागरिकले हजार खत माफ गरिदिएकै हुन् ।
४. तर, तिमले त कोरोना विषाणुको विश्वव्यापी कहरमासम्म जनतालाई गुमराहमा राख्दै बिचौलियासँग मिलेर राज्यको ढुकुटी लूट्न छाडेनौँ । भूकम्प जस्तो प्राकृतिक प्रकोप तिमीहरुलाई जनताले आवाज उठाउन नसक्ने मौकाको ताक झैं बन्यो राष्ट्रिय ढुकुटी र अन्तर्राष्ट्रिय दाताहरुले दिएको सहयोगमा निर्लिप्त ब्रह्मलूट मच्चाउन ।
५. आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्न, प्रधानमन्त्री नै बस्ने बालुवाटार बिचौलियासँग घाँटी जोडेर भूमाफियालाई पोस्न, राज्याधिन गिरिबन्धु टीस्टेट भूमाफियाको मिलिभगतमा पचाउन, राष्ट्रिय ध्वजा अंकित विमानदेखि चल्ने व्यावसायिक योजनानै नभएका विमानघाटहरु बनाएर कमिशन लूड्याउन कत्तिपनि हिच्किचाएनौँ । प्राकृतिक स्रोत र सम्पत्ति नवधनाढेयलाई सुम्पन कत्तिपनि तिम्रा हात काँपेनन् ।
६. स्वास्थ्य र शिक्षा जस्ता नागरिकका आधारभूत सेवाका क्षेत्रमा शैक्षिक र स्वास्थ्य माफियाहरुसँग घाँटी जोडेर व्यावसायिक साझेदार बन्ने र सार्वजनिक सेवालाई मृत्युघाटमा लैजाने बनाउन कत्ति पनि लजाएनौँ । बरु तिनै तत्वहरुलाई पार्टीका हेडक्वार्टरहरु सुम्पियौं । तिनैले जोगाड गरिदिएको अपूतालीमा निर्लज्ज कुम्भकर्ण निन्द्रा बाचौँ ।
७. लोकतन्त्रमा शासन व्यवस्था दलहरुले चलाउने हुँदा त्यहाँभित्रको आन्तरिक प्रजातन्त्रलाई बलियो र चुस्त बनाउने आवश्यकता देखेनौँ । बरु, यिनै बिचौलिया, तस्कर, माफिया, दलाल, भ्रष्टकर्मचारी, विदेशी जासूसहरुले उतारेको आरतीलाई नै अन्तिम सत्य ठान्यौं र आफैंलाई राजाको अर्को सामन्ती स्वरुपमा उभ्यायौं । व्यवस्थाका लागि जीवन दाउमा राखेकाहरुलाई तिम्रा दैलो खुलेनन्, लूटको धन बोकेर आउने सट्टेबाजहरुलाई सडकमै रातो कार्पेट बिछ्याउन बिर्सेनौँ ।
८. गरीबी, अभाव, बेरोजगारी, बिचौलियाको बिगबिगीले आक्रान्त जनता एकपछि अर्को गर्दै निराशाको भारीले थिचिएर हरदिन हजारौंको संख्यामा देश छाड्न विवश भए । तिनलाई सम्झाउने, अवसरका लागि ढोका खुल्छ, गर्दैछौं भनेर ढाडससम्म दिने आवश्यकता देखेनौँ । बरु शैक्षिक माफिया र वैदेशिक रोजगारीका नाममा लोभी नेता र भ्रष्ट कर्मचारीलाई खोकिलामा बोकेर हिंडेकाहरुले चढाएका दामले राज्य र पार्टीसत्तामा अकञ्टक राजको योजना बुन्न थाल्यौ । सार्वजनिक सेवाका अनुगमनकारी पदसम्म लीलामीमा राख्यौं र बढाबढमा खरिद गर्यौ । न्यायका लागि अन्तिममा भीख माग्न जाने नागरिकका निकाय न्यायालयसम्म हेर्दैमा देखिने गरी पार्टीकरण र दलालीकरणको धब्बाले पोत्यौ ।
९. यस्तै कूकर्महरुबाट आर्जिकत कालोधनबाट पार्टीसत्ता कब्जाका लागि हुने नहुने सबै हर्कत गर्यौ । यस्तो नगरौं भन्नेहरुको आवाज ठाउँको ठाउँ निमोठ्यौं, दबायौ । अनि तिमी र तिम्रा ज्यादतीको विरुद्ध आक्रोशको लप्का ज्वालामुखी झैं भएर नउठे कस्काविरुद्धमा उठ्छ त ?
१०. तर चेत तिमीमा अझै आएको छैन । किनकि तिमीलाई लागेको छ, ज्ञानेन्द्र शाहले १५ चैतमा दुर्गा प्रसाईको ढाडमा टेकेर गरेको अराजकताको सवारीविरुद्ध जनता एकगठ भएका छन् । यसैमा हाम्रो कुशासनको जग झैँ बलियो भएको छ ।
११. त्यसो होइन, यो सुध्रन र आफ्ना व्यवहार सुधारेर पार्टीदेखि राज्यसत्तासम्ममा नयाँ विचार र क्षमता भएकाहरुलाई अवसरको ढोका खोल्न दिएको अन्तिम अवसर हो । आगे, भीरबाट फाल हाल्ने गाईलाई भन्न सकिने राम रामसम्म हो, काँधै त कसरी थाप्न सकिएला र ?
यति लेखिरहँदा प्रष्ट के गरौँ भने नागरिकले गर्ने शासनभन्दा उत्तम व्यवस्था संसारमै कहिंकतै छैन । कसैमा भ्रम नहोस् । एक व्यक्ति वा दल निकम्मा भए भनेर पूरै प्रजातान्त्रिक व्यवस्था खराब हुन सक्दैन । यस व्यवस्थाभित्रका प्रत्येक खराबी र ऐंजेरुहरुको शल्यक्रिया(अपरेशन) गर्ने ल्याकत र क्षमता यसैले राख्दछ ।
शाह नै चाहिएको भए, ज्ञानेन्द्रको स्थानमा बालेन साह यसै व्यवस्थाले उब्जाउँछ । ओली नै चाहिएको भए केपीको स्थानमा जेपी, देउवा नै चाहिएको भए शेरबहादुरको स्थानमा बाघबहादुर, दाहाल नै चाहिएको भए पुष्पकमलको स्थानमा फूलप्रसादहरुलाई फक्रन दिने व्यवस्था लोकतन्त्रभन्दा अरु हुनै सक्दैन । चेतना भया ।