माथिल्लो तामाकोसीमा जुट्यो सहमति, फागुनदेखि कर्मचारीको सुविधा समान गरिने
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
646
Shares
तस्बिर : फाइल
दोलखा। माथिल्लो तामाकोसी आयोजनामा कार्यरत दोलखा बासी कर्मचारी र आयोजनाको व्यवस्थापन बिच सुविधा समान गर्ने सहमति भएको छ।
आयोजनामा कार्यरत कर्मचारीहरूमध्ये दोलखा बासी कर्मचारी र बाहिरी जिल्लाका कर्मचारीलाई दिइने अतिरिक्त सुविधामा विभेद भएको भन्दै जिल्लावासी कर्मचारीको आन्दोलन बुधवारको वार्ता पछि टुङ्गिएको हो। माथिल्लो तामाकोसी आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले यस अघि आयोजनामा कार्यरत कर्मचारीहरूमध्ये दोलखा बासी कर्मचारीलाई ५० प्रतिशत र बाहिरी जिल्लाका कर्मचारीहरूलाई ७५ प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराउँदै आएकोमा जिल्लावासी कर्मचारीले आफूहरूलाई विभेद गरेको भन्दै ४ दिन देखी आन्दोलन गरिरहेका थिए।
बुधवारको वार्तामा आयोजनामा कार्यरत सबै कर्मचारीलाई समान अर्थात् ७५ प्रतिशत अतिरिक्त सुविधा दिन आयोजनाको व्यवस्थापन तयार भएपछि लिखित सहमति भएको सङ्घर्ष समितिका संयोजक रामबहादुर खड्काले जानकारी दिए। खड्काले गएको फागुन देखिकै सुविधा चैत्र महिनाको पारिश्रमिक सँगै उपलब्ध गराउने सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको बताएका छन्।
सहमति पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतम सहित मनोज ताम्राकार, पुर्णगोपाल रञ्जित, अनिता बजगाईँ र मित्रमणी पोखरेलले हस्ताक्षर गरेका छन् भने जिल्लावासी करार कर्मचारी सङ्घर्ष समितिका संयोजक राम बहादुर खड्का सहित कर्मचारीहरूको तर्फबाट ७ जनाले हस्ताक्षर गरेका छन्।
सहमति पत्रमा आयोजनामा कार्यरत ४ जना करार कर्मचारीलाई हप्ताको ४ दिन मात्रै काम लगाउँदै आएकोमा अब भने महिनाको तिस दिन काम लगाउने , करार कर्मचारीलाई करारनामाको व्यवस्था गरिने, विषयगत दक्षता एकातिर भई अर्कै समूहमा काम गरिरहेका कर्मचारीलाई सम्बन्धित समूहमा राखेर सेवा प्रदान गर्न लगाउने जस्ता विषयहरू उल्लेख छन्।
यसअघि असोजमा पनि आन्दोलनमा उत्रिएका कर्मचारीका उल्लेखित मागहरू २०८१ माघभित्र कार्यान्वयन गर्ने सहमति भए पनि सम्झौतामा उल्लेख भएको अवधि पुरा भई दुई महिना बितिसक्दा समेत आयोजनाले आफूहरूको मागबारे कुनै निकास ननिकालेको भन्दै ४ दिनदेखि जिल्लावासी कर्मचारीहरू आन्दोलनमा थिए। कम्पनीमा कार्यरत झन्डै २२३ जना करार कर्मचारीमध्ये दोलखाका १०१ जना कर्मचारी कार्यरत छन्।
अपर तामाकोसी हाइड्रोपावर कम्पनीले दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको छ। आयोजनामा गएको असोज ११ गतेको बाढी पहिरोले ठुलो क्षेती गरेको थियो, पहिरोले आयोजनाको बाँध स्थलमा रहेको नियन्त्रण कक्ष पुरिदा ४ जनाको ज्यान गएको थियो भने करोडौँको क्षेती भएको थियो।