बाँस्कोटाको व्यङ्ग्य - जनताले अहिले नै चौरासी गर्न लागिसके
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
950
Shares
काठमाडौँ ।नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनिको राजमार्गअन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको आलोचना व्यहोर्नु परिरहेको बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा उनले निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिएको भए पनि जनताले अहिले नै चौरासी गर्न लागिसके भन्दै व्यङ्ग्य गरे । उनले जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरू शुरु हुने र आफूले उठाएको कुराले मन्त्रीको चित्त दुखेको भन्दै सडक नबन्दा जनताको चित्त दुखेको बताए । केरुङ नाका नखुल्दासम्म अरनिको राजमार्ग एउटा मात्रै चीन जोड्ने माध्यम भएकाले समयमै निर्माण गर्न आग्रह गरे ।
उनले भने, ‘जसलाई जहाँ दुखेको छ, कुरा त्यहीँबाट शुरु हुन्छ । मन्त्रीज्युको चित्त दुख्यो अरे मैले कुरा उठाएँ भनेर । यो चित्त मेरो दुखेको होइन हजुर, त्यो क्षेत्रबाट निर्वाचित सांसद हुँ म । अरनिको हाइवे हो । २०२६ सालमा बनेको र यो अहिले केरुङ पट्टिको बाटो नहुँदा चीनसँग जोड्ने एउटा मात्रै मार्ग हो । २२ अर्ब राजश्व सरकारले तोकेको छ, तातोपानी भन्सार । केही पनि हिँड्दैन त कहाँबाट आउँछ ? उदेक लाग्दो कुरा के छ भने मेरो त घोक्रो पनि सुक्यो, नशा पनि फुल्यो, अब ०८४, ०८४ भनेका छन् । अहिले नै जनताले चौरासी गर्ने जस्तो स्थिति भइसक्यो ।’ अरनिको राजमार्गको ४ किलोमिटर बाटो ४ वर्षसम्म किन बनेन भनेर कहिल्यै मन्त्रालयमा समीक्षा भएन भन्दै भन्दै प्रश्न गरे ।