काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था तथा सहकारी मन्त्री बलाराम अधिकारीले उनलाई पदबाट हटाउने निर्णय गरेको जानकारी दिए ।
उनले भने–‘आजकै मितिबाट लागू हुने गरी पदबाट हटाइएको हो । पटक पटक स्पष्टीकरण सोध्दा पनि उहाँले चित्तबुझ्दो जवाफ दिन सक्नुभएन ।’
घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटक पटक स्पष्टीकरण सोधेको थियो । पाँचौँ पटक घिसिङले केही दिनअघि मात्रै स्पष्टीकरण दिएका थिए ।
आगामी साउन २४ मा घिसिङको चार वर्षे कार्यकाल सकिँदै थियो । साढे चार महिना मात्र कार्यकाल बाँकी रहेका घिसिङलाई हटाएर सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।