लोकतान्त्रिक संस्थालाई कमजोर, समाजलाई विखण्डन गर्ने षड्यन्त्र भइरहेको आरोप [भिडियो]
संविधानको रक्षा गर्न प्रतिबद्ध छौँ
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
685
Shares
काठमाडौँ । संविधान सभा परिषद् नेपालले अराजक गतिविधिका कारण अस्थिरता सिर्जना भएको बताएको छ । सोमबार सिंहदरबारमा परिषद्ले पत्रकार सम्मेलन गर्दै अहिले देखिएका अराजक गतिविधिले राजनीतिक अस्थिरता सिर्जना गरेको ठहर गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संविधान सभा परिषद् नेपालका अध्यक्ष अनन्त पौडेलले अराजक गतिविधिका कारण राजनीतिक अस्थिरता सिर्जना भएको, लोकतान्त्रिक संस्थालाई कमजोर बनाउने र नेपाली समाजलाई विखण्डन गर्ने षड्यन्त्र भइरहेको आरोप लगाए ।
उनले राजावादीहरूको प्रदर्शनप्रति इङ्गित गर्दै संविधानको मर्म र भावना विपरीत संवैधानिक व्यवस्थामाथि नै हमला गर्ने काम भएको बताए । उनले नेपालको लोकतन्त्र बलिदान, सङ्घर्ष र नेपाली जनताको अभिमतबाट स्थापित भएको भन्दै लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताएको छ । नेपालमा गणतन्त्र स्थापना गर्नु केबल व्यवस्थागत परिवर्तन मात्र नभई ऐतिहासिक परिवर्तन रहेको जिकिर संविधान सभा परिषद् नेपालको छ ।
संविधान सभा परिषद् नेपाल संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको जिकिर गर्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन निरन्तर लागिरहने बताए । संविधान सभा परिषद् नेपालले पछिल्लो समय केही समूहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म र भावना विपरीत गतिविधि गरिरहेको भन्दै भर्त्सना गरेको छ ।
अध्यक्ष पौडेलले भ्रष्टाचार नियन्त्रण, कानूनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त बनाउने कार्यमा सबै दलहरू लाग्नुपर्नेमा जोड दिए । संविधान सभा परिषद् नेपालले नेपाली जनताको अपेक्षा र आकंक्षाअनुसार सबै पक्षसँग छलफल गरी संविधानमा रहेका कमजोरीहरूलाई हटाइ आवश्यकताअनुसार संशोधन गर्न जोड दिएको छ ।