पीएम कपमा तीन विभागीयमध्ये दुई टिमले फाइनल खेल्ने पक्का
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १० आइतबार
574
Shares
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब फाइनल नजिक पुगेको छ ।
आइतबार भएको खेलमा लुम्बिनी प्रदेशमाथि १३१ रनको फराकिलो जितसँगै आर्मी फाइनल नजिक पुगको हो ।
सिद्धार्थनगरमा भएको खेलमा पहिले ब्याटिङ गरेको आर्मीले ४ बल खेल्न बाँकी छँदै अलआउट भएर २४३ रन बनायो । बसिर अहमदले ८६ रन बनाएको इनिङ्समा अजय चौहानले ४ विकेट लिए ।
जवाफमा लुम्बिनीले २७.१ ओभरमा अलआउट हुँदै ११२ रनमात्र बनाउन सक्यो । शाहब आलमले ४ तथा नरेन साउदले २ विकेट लिए ।
दोस्रो खेल
सिद्धार्थनगरको मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ३७ रनले हराउँदै सशस्त्र प्रहरीको एपीएफले फाइनल सम्भावना जीवितै राखेको छ । यद्यपि सशस्त्र फाइनलमा पुग्न खेल्न बाँकी सबै खेल फराकिलो अन्तरले जितेर मात्र पुग्दैन त्रिभुवन आर्मी क्लबले बाँकी खेल हार्नुपर्ने हुन्छ ।
पहिले ब्याटिङ गरेको सशस्त्रले ४ बल खेल्न बाँकी छँदै अलआउट भएर २५८ रन बनायो । आसिफ शेखले ७४ बलमा ८० रन बनाए ।
गण्डकीका सुदीप अर्याल र सन्दीप पराजुलीले ३–३ विकेट लिए ।
जवाफमा गण्डकीले ८ विकेटको क्षतिमा २२७ रनमात्र बनाउन सक्यो । अर्जुन कुमालले सर्वाधिक ३९ रन बनाए । सशस्त्रका अभिषेक गौतमले ३ तथा अमर राउटेलाले २ विकेट लिए ।
तेस्रो खेल
सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ३१ रनले हरायो । लमहीमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४३.४ ओभरमा अलआउट हुँदै २४२ रन बनायो । किरण ठगुन्नाले ११५ रन बनाए । कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए ।
जवाफमा कोशीले ४५.१ ओभरमा अलआउट हुँदै २११ रनमात्र बनाउन सक्यो । शकिब हकले ६२ रन बनाएको इनिङसमा सूर्य श्रेष्ठले ३ तथा भोजराज भट्टले २ विकेट लिए ।
अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा ७ खेलबाट १४ अंकसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ । पुलिस एकमात्र अपराजित टिम हो । दुई खेलअघि नै पुलिस फाइनल नजिक रहेको छ ।
त्यस्तै ८ खेलबाट १४ अंकसहित त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ । आर्मी पनि फाइनल नजिक पुगेको छ ।
सशस्त्र प्रहरीको एपीएफ ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा रहेको छ । फाइनल प्रवेशका लागि सशस्त्रले बाँकी दुई खेल जितेरमात्र पुग्ने छैन पुलिस र आर्मीमध्ये कुनै एक टिमले बाँकी खेल फराकिलो अन्तरले हार्नुपर्ने हुन्छ । अन्य टिमको भने फाइनल सम्भावना सकिएको छ ।
यसको मतलब तीन विभागीयमध्ये दुई टिम उपाधिका लागि फाइनलमा भिड्ने छन् ।
कर्णाली प्रदेशको ७ खेलबाट ८ तथा लुम्बिनी प्रदेशको ८ खेलबाट ८ अंक रहेको छ ।
बागमती प्रदेशको ७ खेलमा ६ अंक रहेको छ । सुदूरपश्चिम प्रदेशको ८ खेलमा ६ अंक रहेको छ ।
मधेस प्रदेशको समान ४ अंक रहेको छ भने गण्डकी प्रदेश र कोशी प्रदेशको समान २–२ अंक छ ।