पीएम कपमा कोशीको कमजोर प्रदर्शन कायमै, बागमतीसँग पराजित
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ९ शनिबार
674
Shares
काठमाडौँ । प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई १३१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
शनिबार भएको खेलमा बागमतीले कोशीलाई फराकिलो अन्तरले पराजित गरेको हो । दाङको देउखुरी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रनमा नै समेटिन विवश भएको हो।
आइश भट्टराईले ३७ रन बनाएको इनिङ्समा सूर्य तामाङले ५ तथा रिजन ढकालले ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमती ४९.३ ओभरमा २४० रनको योगफल तयार पारेको थियो ।
बागमतीका लागि शुभ कंसाकारले ३९, शुतोष घिरैयाले २९, इशान पाण्डे र विपिन आचार्यले समान २५, रिजन ढकालले अविजित २२, सोनु देवकोटा १८, सूर्यले १७ तथा गौतम केसी १६ रन बनाएका थिए ।
जितसँगै सात खेलमा ६ अंक जोडेको बागमती छैटौँ स्थानमा उक्लिएको छ । कोशी समान खेलबाट २ अंकका साथ पुछारमा छ ।
अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा ७ खेलबाट १४ अंकसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ । पुलिस एकमात्र अपराजित टिम हो ।
७ खेलबाट १२ अंकसहित त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ । आर्मी फाइनल नजिक पुगेको छ ।
सशस्त्र प्रहरीको एपीएफको ६ खेलबाट ८, कर्णाली प्रदेशको ७ खेलबाट ८ तथा लुम्बिनी प्रदेशको ७ खेलबाट ८ अंक रहेको छ ।
बागमती प्रदेशको ७ खेलमा ६ अंक रहेको छ । सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशकोे समान ४ अंक रहेको छ भने गण्डकी प्रदेश र कोशी प्रदेशको समान २–२ अंक छ ।