arrow

राइसिना डायलगमा सहभागी भएर फिर्ता

भारत भ्रमण फलदायी – आरजू

‘भारतमा रहँदा मैले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेँ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ८ शुक्रबार
arzu-81-12-8.jpg

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजू राणा देउवाले आफ्नो यस पटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताएकी छिन् । 

भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा गत मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग उनले सो जानकारी दिएकी हुन् । 

उनले भनिन् “यो भ्रमणका क्रममा भारतका विदेशमन्त्री डा एस जयशंकर र अन्य देशका समकक्षीहरुसँग भेटवार्ता भयो र राइसिना डायलगमा पनि सम्बोधन भयो । त्यसैगरी भारतबाट नेपालले खरिद गर्ने विद्युत पनि निरन्तरताका लागि पहल गरेँ । त्यसैले नेपालको कूटनीतिक सम्बन्ध विस्तारमा यो भ्रमण फलदायी रह्यो ।”

उनले यस भ्रमणका क्रममा भारतका विदेशमन्त्रीका अतिरिक्त मोल्दोभाका उपप्रधान तथा परराष्ट्रमन्त्री, जर्जिया, युक्रेन र फिलिपिन्सका परराष्ट्र मन्त्रीहरु तथा संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशकसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । 

मन्त्री डा राणाले भनिन्, “भारतमा रहँदा मैले हाल नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेँ । यसमा खासगरी नेपाल र भारतबीच रहेको विद्यमान द्विपक्षीय सम्झौता अनुसार नै इन्डियन इनर्जी एक्सचेञ्ज मार्फत नेपालमा आपूर्ति हुने विद्युतको परिमाणमा वृद्धि गर्न अनुरोध गरेकी छु ।” 

उनले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिँदै आएको आवश्यक सहयोगको निरन्तरता तथा हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइका लागि सहजीकरण गर्न आग्रह गरेको जानकारी दिइन् । 

त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा यूक्रेनमा यद्धबन्दीको रुपमा रहेका ७ जना नेपालीको रिहाइका लागि आग्रह गरेको जानकारी मन्त्री डा राणाले दिइन् । 

पत्रकारको एक प्रश्नमा उनले भारत नेपालमा सदैव प्रजातान्त्रिक प्रणालीमा नै विश्वास गर्ने स्पष्ट गरेकी थिइन् । नेपालमा हालै भएका केही राजनीतिक घटनाक्रमबारे गरिएको प्रश्नमा उनको जवाफ थियो “यस विषयमा त भारतमा कुनै कुरा भएन तर पनि हामीले देखिरहेकै छौँ कि भारत नेपालमा प्रजातान्त्रिक प्रणाली नै चाहन्छ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ