काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको अपराजित यात्रा कायमै रहेको छ । लगातार सात जितसहित पुलिस फाइनल नजिक पुगेको छ ।
पुलिसले लगातार सातौँ जित हासिल गर्ने क्रममा बागमती प्रदेशलाई ९३ रनले पराजित गर्यो ।
भैरहवामा भएको खेलमा पुलिसले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २९७ रन बनायो ।
कुशल भुर्तेलले ९८ बलमा ८८ रन जोडे । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ४६ बलमा ६० तथा अमित श्रेष्ठले ५१ बलमा ४८ रन बनाए । प्रतिस जीसीले ३ विकेट लिए ।
जवाफमा बागमतीले ४५.२ ओभरमा अलआउट हुँदै २०४ रनमात्र बनाउन सक्यो । इशान पाण्डेले सर्वाधिक ७० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा ललित राजबंशीले ४ तथा अलराउन्डर कुशल भुर्तेलले ३ विकेट लिए ।
आजको दोस्रो खेल
आजको दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ५ रनले हरायो । पहिले ब्याटिङ गरेको कर्णालीले ४८.५ ओभरमा अलआउट हुँदै २०५ रन बनायो । दिपेन्द्र रावतले ६६ तथा अर्जुन घर्तीले ५६ रन बनाए ।
लुम्बिनीका रमेश कुर्मीले ३ तथा निर्मल गुरुङ, अजय चौहान र बिप्रसन केसीले २–२ विकेट लिए ।
जवाफमा लुम्बिनीले २ बल खेल्न बाँकी छँदै अलआउट भएर २०० रनमात्र जोड्यो । प्रज्वल थापाले ८४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । पछिल्लो २८ रन जोड्ने क्रममा लुम्बिनीले ५ विकेट गुमाएको थियो ।
दिनेश अधिकारी र दिपेन्द्र रावतले समान ३–३ विकेट लिए ।
अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा ७ खेलबाट १४ अंकसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ । पुलिस एकमात्र अपराजित टिम हो ।
६ खेलबाट १० अंकसहित त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ । लुम्बिनी प्रदेश ७ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ ।
सशस्त्र प्रहरीको एपीएफ ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ । कर्णाली प्रदेश ६ खेलबाट ६ अंकसहित पाँचौँ स्थानमा छ ।
मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश समान ४ अंकसहित क्रमशः छैटौँँ, सातौँ र आठौँ स्थानमा छन् ।