देशकै होचो स्थानमा प्रदर्शन गरियो नेपाल सुपर लिगको ट्रफी
युवराज रेग्मी,
प्रकाशित २०८१ चैत ४ सोमबार
1.2k
Shares
झापा । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफी नेपालकै सबैभन्दा होचो स्थान केचनाकबललगायत झापाका विभिन्न स्थानहरुमा प्रदर्शन गरिएको छ ।
चैत १६ गतेदेखि काठमाडौको दशरथ रंगशालामा हुने एनसेल नेपाल सुपर लिगको ट्रफी सोमबार झापाका विभिन्न स्थानहरुमा प्रदर्शन गरिएको हो ।
सोमबार भद्रपुरस्थित मेची रंगशालामा गरिएको एनएसएलको ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रमको अबसर पारेर झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल लगायतले कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एक मात्र टिम झापा एफसीलाई च्याम्पियन बन्नका लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए ।
मेची रंगशालाबाट प्रदर्शन शुरु गरिएको ट्रफी नेपालकै होचो भूभाग केचनकबल , काँकडभिट्टा, बुधबारे, अर्जुनधाराधाम, बिर्तामोड, झिलझिले, गौरादह हुँदै दमकमा पुगेर टुङ्गिएको थियो ।
नेपाल सुपर लिग ट्रफीको नेपाल टुर अभियान अन्तरगत सुदूरपश्चिमको धनगढीबाट शुरु गरिएको ट्रफी प्रदर्शन बुटवल, लुम्बिनी र चितवनमा यसअघिनै प्रदर्शन गरिसकिएको छ ।
सोही क्रममा सोमबार उक्त ट्रफीलाई झापामा प्रदर्शन गरिएको हो । झापा पश्चात् उक्त ट्रफी लाई पोखरा, ललितपुर हुँदै काठमाडौँ पुगेर समापन गरिने ट्रफी टुर आयोजकले जनाएको छ ।
चैत १६ गतेबाट दशरथ रंगशालामा शुरु हुने प्रतियोगितामा सात वटा टिमले भाग लिनेछन् । प्रतियोगिताको उद्घाटन खेल ललितपुर र काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ ।