न्यून योगफल भएका खेलमा आर्मी, पुलिस र लुम्बिनी जितसहित शीर्ष तीनमा
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ४ सोमबार
620
Shares
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार तीन खेल भएका छन् । जसमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश विजयी भएका छन् ।
न्यून योगफल बनेको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई, आर्मीले सशस्त्र प्रहरीको एपीएफलाई र लुम्बिनीले मधेस प्रदेशलाई पराजित गरेको हो ।
लुम्बिनीले पहिले ब्याटिङ गर्दै ४६ ओभरमा अलआउट हुँदै १५८ रनमात्र बनायो । आकाश त्रिपाठीले ७३ रन जोडे । विशाल पटेल र कमल गुप्ताले ३–३ विकेट लिए ।
जवाफमा मधेस २६.५ ओभर खेलेर ७५ रनमात्र बनाउन सक्यो । दिपेश दासले सर्वाधिक २३ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा रमेश कुर्मीले ४ तथा बिप्रसन केसीले ३ विकेट लिए ।
पुलिसले सुदूरपश्चिमलाई ६१ रनले हरायो । पुलिसले ४७ ओभरमा अलआउट हुँदै १६० रन बनायो । कप्तान दिपेन्द्र सिंह ऐरीले ४२ रन बनाएको इनिङ्समा सौर्य श्रेष्ठले ४ तथा भोजराज भट्टले ३ विकेट लिए ।
जवाफमा सुदूर २८.३ ओभर खेलेर ९९ रनमै रोकियो । शेर मल्लले ३२ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले १५ रन खर्चेर ६ विकेट लिए ।
त्यस्तै आर्मीले सशस्त्रलाई ३ विकेटले हरायो । सशस्त्रले पहिले ब्याटिङ गर्दै ४२.३ ओभरमा अलआउट हुँदै १४१ रन बनायो । सन्दीप जोराले सर्वाधिक ६५ रन बनाएको इनिङ्समा आकाश चन्दले ४ तथा सोमपाल कामीले ३ विकेट लिए ।
जवाफमा आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर जित हासिल गर्यो । कुशल मल्लले अविजित रहँदै ३१ रन बनाए ।
कमल ऐरी, अमर राउटेला र रोहित पौडेलले २–२ विकेट लिए ।
अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा ५ खेलबाट समान १० अंकसहित नेपाल पुलिस क्लब शीर्ष तथा त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ ।
लुम्बिनी प्रदेश ५ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा पुगेको छ भने सशस्त्र प्रहरीको एपीएफ ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा झरेको छ ।
मधेस प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशको समान २–२ अंक छ ।