एकचालीस देशका नागरिकलाई अमेरिका यात्राको प्रतिबन्ध लगाउँदै ट्रम्प
सूचीमा भुटान, पाकिस्तान र अफगानिस्तान पनि
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
2.1k
Shares
काठमाडौँ । अमेरिकाको ट्रम्प प्रशासनले दर्जनौँ देशका नागरिकहरूका लागि यात्रा प्रतिबन्ध जारी गर्ने तयारी गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार भुटानसहित ४१ देशलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । ती देशहरूलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा पहिलो समूहमा दश देशहरू समावेश छन् । यसमा अफगानिस्तान, इरान, सिरिया, क्युबा र उत्तर कोरिया र अन्य देशहरू समावेश छन् । उनीहरूको भिसामा पूर्ण प्रतिबन्ध लगाउने बताइएको छ ।
त्यस्तै दोस्रो समूहमा पाँच देशका नामहरू छन् । यसमा इरिट्रिया, हैटी, लाओस, म्यानमार र दक्षिण सुडान समावेश छन् । यी देशहरूलाई आंशिक निलम्बन लगाइने छ, जसले पर्यटक र विद्यार्थी भिसाका साथै आप्रवासी भिसालाई पनि असर गर्नेछ ।
त्यसैगरी तेस्रो समूहमा कुल २६ देशहरू समावेश छन् । यसमा बेलारुस, पाकिस्तान, तुर्कमेनिस्तान जस्ता देशहरू समावेश छन् । यदि यी देशका सरकारहरूले ६० दिनभित्र कमजोरीहरूलाई सम्बोधन गर्न प्रयास गरेनन् भने ती देशहरूलाई भिसा जारी गर्न आंशिक प्रतिबन्ध लगाउने बताइएको छ ।
ट्रम्प प्रशासनका अधिकारीलाई उदृत गर्दै यो सूचीमा परिवर्तन हुन सक्ने र यसलाई अमेरिकी प्रशासन र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।