म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा बेलुकी आर्सनल र चेल्सीको भिडन्त रोचक
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
577
Shares
काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी ब्राइटनसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
म्यानचेस्टर सिटीका लागि इर्लिंग हलाण्ड र ओमार मार्मोउशले एक–एक गोल गरेका थिए भने ब्राइटनका लागि पेर्भिस इस्तुपिनान र एक गोल म्यानचेस्टर सिटीका अबडुकोडिर खुसानोभले आत्मघाती गोल गरेका थिए ।
गएरातिका अन्य खेलमा एभर्टनले वेष्टह्याम युनाइटेडसँग १–१ गोलको बराबरी खेल्यो भने नटिंघम फरेस्टले इप्सविच टाउनलाई ४–२ ले हरायो ।
त्यस्तै वुल्भ्सले साउथह्याम्पटनलाई २–१ ले हराउँदा ब्रेन्टफोर्डले बर्नमाउथलाई २–१ ले हरायो ।
अंक तालिका
लिभरपुल २९ खेलबाट ७० अंकसहित उपाधि नजिक छ भने दोस्रो स्थानको आर्सनलको २८ खेलमा ५५ अंक छ । तेस्रो स्थानको नटिंघम फरेष्टको ५४ अंक छ ।
त्यस्तै चौथो स्थानको चेल्सीको ४९ तथा पाँचौँ स्थानको म्यानचेस्टर सिटीको ४८ अंक छ । छैटौं र सातौँ स्थानका न्यूकासल युनाइटेड र ब्राइटनको समान ४७ अंक छ ।
यो अंक तालिकाले लिभरपुल केही खेलको नतिजापछि नै उपाधि सुरक्षित गर्ने स्थितिमा छ ।
आर्सनलदेखि चेल्सीसम्म दोस्रो स्थान ओगट्ने प्रयासको दौडमा छन् । म्यानसिटीको होड पनि दोस्रो स्थानका लागि भए पनि उसलाई आफ्नै स्थान जोगाउन हम्मेहम्मे देखिएको छ ।
इप्सविच टाउन, लेस्टर सिटी र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा छन् ।
आजका खेल
आज दुई खेल हुँदैछन् । बेलुकी ७ः१५ बजे आर्सनलले चेल्सीसँग र फुल्हमले टोटनह्याम हट्सपरसँग खेल्नेछ ।