शास्त्री परीक्षा पास गर्नुभन्दा पहिलेसम्म मैले त्यत्ति तलब पाउँथेँ जति नियुक्ति हुँदा पाएको थिएँ । एउटा सानो घटनाले मेरो तलबवृद्धिमा सहयोग गर्यो ।
मैले शास्त्री पास गर्दा जयाप्रसाद शर्मा गुल्मी जिल्लाका बडाहाकिम थिए । उनी पेटमा पाप नभएका तर मुखाले व्यक्ति थिए ।
मृगरत्न स्थापित भन्ने व्यक्ति निम्न माध्यमिक स्कूलका निरीक्षक थिए । वार्षिक परीक्षाको निमित्त मैले निकालेका प्रश्नपत्रहरू मेरो अनुपस्थितिमा अफिसबाट प्राप्त गरेर धमाधम बदलिदिएछन् ।
यो कुरा मैले थाहा पाएर अफिस इन्चार्ज धनबहादुर थापासँग संशोधन गर्ने निहुँले सम्पूर्ण कक्षाका प्रश्नपत्र हेर्न थालेँ ।
सात कक्षाका नेपाली विषयका प्रश्नपत्रहरूमा धाँधली भएछ । यसो हेर्छु त धेरै कुरा अर्कै । अफिस कोठामा आएँ र अरू बुझाइदिएँ, सात कक्षाका प्रश्नपत्र चाहिँ सबैले देख्नेगरी च्यातेर जलाइदिएँ ।
साँझ डेरामा आएर प्रश्नपत्र बनाएर सामेल गरिदिएँ । मैले जोशका कुरा गर्दै प्रश्नपत्र च्यातेको प्रअ र यशोमती दुवैले देखेका थिए ।
त्यहाँ कोही बोलेनन् । मैले प्रश्नपत्र च्यातेको, प्रधानाध्यापिकाको अपमान गरेको, अश्लील बोलेको भनेर बडाहाकिमलाई असत्य कुरा लगाइएछ ।
त्यो कुरा थाहा पाएर गुल्मीका प्रयागलाल श्रेष्ठ (जो त्यसै स्कूलका शिक्षक थिए) ले – ‘बाबुरामजी ! प्रश्नपत्रको बारेमा जे भयो त्यो कुरालाई बढाइ चढाइ गरेर चुक्ली लगाएछन् र बडाहाकिम तपाईंसँग रिसाएका छन् । भोलि सञ्चालक समितिको बैठकमा तपाईंलाई पनि बोलाएर स्पष्टीकरण लिने भनेका छन् । राम्रोसँग विचार गरेर बोल्नुहोला’, भनेर सचेत गराए ।
अर्को दिन दिउँसो मिटिङमा मलाई पनि बोलाइयो । म उपस्थित भएँ । आज बाबुरामजीले हप्काइ खानुहुन्छ भन्दै स्कूलमा भित्रभित्र हल्लीखल्ली मच्चिएछ । मैले आफ्नो शास्त्रीको प्रमाणपत्र साथै लिएर गएको थिएँ ।
धर्मबहादुर थापा जिल्ला विकास अधिकृत (बीडीओ) भएकाले उहाँ पनि समितिको बैठकमा सदस्यका नाताले सो मिटिङमा हुनुहुन्थ्यो । अरू सदस्यहरू पनि थिए ।
स्कूल सञ्चालक समितिका सचिव टेकबहादुर कुँवर अरू निर्णयका माइनुट लेख्दै थिए । बडाहाकिमले कुर्सीमा बस्न मलाई संकेत गर्दै भने – ‘अँ बाबुरामजी तिमीले त दौरा उचाली उचाली हेडमास्टरलाई अपमान गर्यौ रे क्या हो ?’
मैले नडराइकन राम्रोसँग जमेर उत्तर दिएँ । प्रधानाध्यापकको पद हाम्रो आदरणीय स्थान हो । त्यस पदको आदर गर्न मैले राम्ररी जानेको छु । त्यसमा पनि मेडम महिला उहाँको सम्मान कसरी गर्नुपर्छ त्यो पनि राम्ररी बुझेको छु । यो चुक्ली खुरापाती कसैबाट भएको हो भन्ने सम्झेको छु । नेपाली विषयका प्रश्नपत्र निकाल्ने र उत्तरपुस्तिकाको परीक्षण गर्ने काम मेरो हो । मेरो अनुपस्थितिमा गोप्यमा रहेका प्रश्नपत्र निकाल्न लगाएर तलमाथि गर्ने अरू, म प्रअको अपमान गर्ने दोषी ?
मृगरत्न पनि त्यस मिटिङमा थिए । बडाहाकिमले मलाई माया गर्थे – ‘नडराउ बाबुराम ! भैगो भने भैगो ।’ मैले तुरुन्तै भनेँ – ‘बडाहाकिम साहेब ! मेरो खास कुरा बाँकी नै छ ।’
उनले भने – के हो भनन ।’
मैले शास्त्री अन्तिम वर्षको प्रमाणपत्र देखाएँ र मेरो पनि ग्राजुएट सरहको तलब हुनुपर्छ भन्ने आग्रह गरेँ ।
उनले धर्मबहादुरको मुखमा हेरेर मेरो प्रश्नको उत्तर चाहेजस्तो गरे । धर्मबहादुरले भन्नुभयो – ‘शास्त्री र बीएमा कुनै फरक छैन । हामी अधिकृतमा नियुक्त हुँदा आधाभन्दा ज्यादा शास्त्री पास गरेका ग्राजुएट थिए । लोकसेवा आयोग पास गरेर कतिपय संस्कृतका स्नातकहरू सेक्सन अफिसर भएका छन् ।’
एकछिनको छलफलपछिको निर्णयानुसार मेरो तलबवृद्धि हुने भयो ।
मेरो बारेमा गरिएको उजुरी ढिसमिस भयो । तुरुन्त समितिले माइनुटिङ गर्यो । मेरो तलब रु ८० बाट मासिक ३५० मा पुर्याइएको निर्णय गरियो ।
बडाहाकिमले मेरा मुखमा हेरेर मुस्कुराउँदै ‘फटाहा बाहुन’ भने ।
मलाई चिया खाउन्जेल पनि बेर भयो । म उठेँ । धर्मबहादुरजीले बधाइ दिनुभयो । म ठाडो शिर गराएर स्कूल आएँ ।
मैले गरेको कुरा र तलब बढेको सुनेर सबै दङ्ग परे ।
यसरी के भनेर गइयो, के भएर आइयो । यसैलाई भन्छन् ‘भगवानको लिला ।’
यो तलब बढ्नुमा प्रमाणपत्र मात्र कारण थिएन । मेरो विद्यार्थीहरू, अभिभावक एवं स्थानीय समाजसँगको व्यवहार र सुस्पष्ट गरी पढाउन सक्ने क्षमता, जसमा बोधशैलीको प्रयोग आदि पनि कारण थिए । (स्व प्राडा बाबुराम पोख्रेलको ‘भए गरेका कुरा’ आत्मवृत्तान्त पुस्तकबाट)