काठमाडौँ । युगाण्डामा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले अहिले नामिबियासँग खेलिरहेको छ । दोस्रो चरणको पहिलो खेल जितका लागि नेपालले १२६ रनको चुनौती पछ्याइरहेको छ ।
खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै नामिबियालाई १२५ रनमा रोक्यो । नामिबियाले ८ विकेटको क्षतिमा १२५ रन बनाएको हो ।
यस्मीन खानले सर्वाधिक ४५ रन बनाएको इनिङ्समा इश्वरी विष्टले ३, रचनाकुमारी चौधरीले २ तथा इन्दू बर्मा र रिया शर्माले १–१ विकेट लिए ।
यस श्रृंखलामा नेपालले खेलेका ३ खेलमा १ जित र २ हार बेहोरेको छ । नेपालले यसअघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा १ जित र २ हार बेहोरेको छ ।
नेपालले बिहीबार युगाण्डासँग र शुक्रबार हङकङसँग खेल्ने तालिका रहेको छ ।
त्यसपछि आइतबार अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।