साफ यू–१९ च्याम्पियनशिपमा नेपाल र भारत एउटै समूहमा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
670
Shares
काठमाडौँ । नेपाल साफ यू–१९ च्याम्पियनशिप फुटबलमा घरेलु टोली भारत रहेको समूह ‘बी’ मा परेको छ । आगामी मे ९ देखि १८ तारिखसम्म भारतको अरुणाञ्चल प्रदेशमा तेस्रो संस्करणको साफ यू–१९ च्याम्पियनशिप हुँदैछ ।
सोही च्याम्पियनशिपका लागि मंगलबार काठमाडौंमा भएको ड्रमा नेपाल आयोजक भारतको समूहमा ‘बी’ मा परेको हो । यस साफमा आयोजक भारतसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालको समूहमा श्रीलंका पनि छ । अर्को समूह ‘ए’ मा बंगलादेश, भुटान र माल्दिभ्स छन् । सन् २०२३ मा नेपालमा नै भएको साफ यु–१९ च्याम्पियनशिपमा भारतले पाकिस्तानलाई हराउँदै उपाधि उचालेको थियो ।
सन् २०२४ मा भने यु–२० साफ च्याम्पियनशिप भएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने समीकरण छ ।
लिगकम नकआउटका आधारमा हुने यस साफमा कूल ९ खेल हुनेछन् । खेलहरू रुणाञ्चल प्रदेशको युपियास्थित गोल्डन जुब्ली स्टेडियममा हुनेछन् ।