फुटबल खेलाडी एञ्जिलाको संघर्षको कथा ‘एञ्जिला’ को भव्य प्रिमियर [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
712
Shares
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको वास्तविक संघर्षलाई समेटेर निर्माण गरिएको चलचित्र ‘एञ्जिला’ विशेष प्रिमियर भएको छ ।
होलीदेखि प्रदर्शनमा आउन लागेको चलचित्र एञ्जिलाको सोमबार ललितपुरको लाबिम मलमा भव्य प्रिमियर भएको छ । प्रिमियरमा महिला फुटबल राष्ट्रिय टिमबाट प्रीति राई , सबिता राना मगर ,गीता राना, अनिता बस्नेत, निशा ठोकर, हिरा भुजेल, सरु लिम्बू, कुसुम खतिवडा, अनु लामा लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै सिने क्षेत्रबाट पनि विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो भने विशेष अतिथिमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको उपस्थिति रहेको थियो । प्रिमियर अघि उपस्थित महिला फुटबल राष्ट्रिय टिमका खेलाडीहरूलाई खादा लगाएर सम्मान गरिएको थियो ।
एञ्जिलाको जीवनीमा आधारित यो चलचित्रको हङकङ, दक्षिण कोरिया, बेलायत र धरानमा सफलतापूर्वक प्रिमियर भैसकेको छ। प्रिमियममा निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, दयाहाङ राई , सहनिर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिति थियो ।
यद्यपि चलचित्रकी मुख्य अभिनेत्री एञ्जिला र अन्य प्रमुख कलाकारहरू भने कार्य व्यस्तताका कारण समारोहमा उपस्थित भएनन् ।
चलचित्रमा एञ्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङको प्रमुख अभिनय छ ।
चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । उनले यसअघि बायोपिकहरू ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गरेका थिए । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको थियो । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका हुन् ।
सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् ।