आफैँ बिमार वीर अस्पतालले थाल्यो दुवै सिफ्टमा अपरेशन सेवा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
916
Shares
काठमाडौँ । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ । बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा शुरु गरेको हो ।
अस्पतालका निमित्त निर्देशक डा समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताए ।
यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेशन सेवा उपलब्ध भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए ।
सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । वीरले ओपीडी र सार्वजनिक बिदामा सेवा दिंदै आए पनि दुवै सिफ्टमा अपरेशन बल्ल शुरु गरेको हो ।
‘अहिले बढी बिरामीको चाप भएका केही सेवा दुवै सिफ्टमा शुरु भएका छन्, उनले भने, ‘विस्तारै बाँकी अरु सेवालाई पनि दुई सिफ्टमा लैजाने योजना छ ।’
आन्तरिक जनशक्ति र श्रोतबाटै व्यवस्थापन गरेर सेवा आरम्भ गरिएको निमित्त निर्देशक गौतमले बताए ।
दुवै सिफ्टमा हुने अपरेशनका कारण यसअघि सेवा पाइरहेका भन्दा धेरै बिरामीले लाभ लिन सक्ने र उनले बताए । डा गौतमले निमित्त निर्देशक भएलगत्तै एक साताभित्र यस्तो सेवा आरम्भ गर्ने घोषणा गरेका थिए ।
यद्यपि वीरबाट राम्रो सेवा नपाएको गुनासो बिरामीहरुको छ । बिरामीले उपचार गराउन विभिन्न चरणमा लाइन बस्नुपर्ने र सोही कारण हैरानी बेहोर्नु पर्ने भएकाले सहज उपचार व्यवस्थामा बिरामी र कुरुवाले जोड दिएका छन् ।
आफैँ बिमार जस्तो देखिएको वीरमा प्रशासनिक सुधार नभएका कारणले बिरामीले हैरानी खेप्नुपरेको हो । अस्पतालमा भर्ना भएका बिरामीलेसमेत समयमै उपचार नपाएको गुनासो आउने गरेको छ ।
त्यस्तै बिमाका लागि झन् बढी झण्झट बेहोर्नु परेको गुनासो बिरामी र बिरामीका आफन्तले गर्ने गरेका छन् ।
पछिल्लो समय वीर अस्पतालमा पानीको समस्या चर्कदै गएको छ । भर्ना भएर बसेर बिरामीका लागिसमेत धारामा पानी नहुँदा समस्या भएको एक बिरामीले बताए । उनका अनुसार धाराबाट दूषित पानी आइरहेको हुन्छ ।
साथै सिनियर चिकित्सकको अभावमा विद्यार्थी चिकित्सकबाटै विशेषज्ञता सेवा लिनु परेकाे गुनासो पनि बिरामीको छ । एक बिरामीका आफन्तले भने, 'जिल्ला अस्पतालबाट बिरामी सिफारिस भएर ल्याउँदा पनि सिकारुका भरमा उपचार गराउनु पर्दा किन नै आइएछ भन्ने भइरहेको छ ।'