काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा रोकिएका छन् । गएराति ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली म्यानयुले आर्सनलसँग १–१ गोलको बराबरी खेलेको हो ।
म्यानयुका लागि ब्रुनो फर्नानडेजले तथा आर्सनलका लागि डेक्लान राइसले गोल गरेका थिए । यो बराबरीपछि आर्सनलको उपाधि दौड अझै संकटमा परेको छ ।
यसले लिभरपुललाई झन् छिटो उपाधि सुनिश्चितता सजिलो भएको छ ।
हाल लिगको दोस्रो स्थानमा रहेको आर्सनलको २८ खेलमा ५५ अंक रहेको छ र शीर्ष स्थानमा रहेको लिभरपुल भन्दा १५ अंकले पछाडि रहेको छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडको २८ खेलमा ३४ अंक भएको छ र लिगमा १४औँ स्थानमा रहेको छ ।
लिगका गएरातिका अन्य खेलमा वुल्भ्स र एभर्टनले १–१ को तथा टोटनह्याम हट्सपरले बर्नमाउथसँग २–२ गोलको बराबरी खेलेको छ ।
चेल्सीले लेस्टर सिटीलाई १–० ले हरायो ।
लिगमा नटिंघम फरेस्ट ५१ अंकसहित तेस्रो स्थानमा रहेको छ भने चेल्सी ४९ अंकसहित चौथो स्थानमा पुगेको छ ।
म्यानचेस्टर सिटी ४७ अंकसहित पाँचौँ स्थानमा झर्दा ब्राइटन ४६ अंकसहित छैटौँ स्थानमा छ ।
इप्सविच टाउन, लेस्टर सिटी र साउथह्याम्पटन रेलिगेशन क्षेत्रमा छन् ।