च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्यूजिल्याण्ड भिड्दै, यस्तो छ इतिहास
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २५ आइतबार
446
Shares
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि भारत र न्यूजिल्याण्डबीच हुँदैछ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो फाइनल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेदेखि शुरु हुँदैछ ।
सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएको थियो भने न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । २५ वर्षपछि यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुँदै छन् ।
च्याम्पियन्स ट्रफीमा भारत र न्यूजिल्याण्ड समूह एमा थिए । भारतले समूह चरणको अन्तिम खेलमा न्यूजिल्याण्डलाई पराजित गरेको थियो र अब आठ दिनको अन्तरालपछि दुवै टोली फेरि एकपटक आमनेसामने हुनेछन् ।
मार्च २ मा, भारत र न्यूजिल्याण्डबीच दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको थियो जसमा भारतले न्यूजिल्याण्डलाई २५० रनको लक्ष्य दिएको थियो । यस खेलमा वरुण चक्रवर्तीको नेतृत्वमा रहेका भारतीय स्पिनरहरूको बलियो प्रदर्शनका कारण भारतले जित हासिल गरेको थियो ।
च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेल खेल्दै वरुणले पाँच विकेट लिए र न्यूजिल्याण्डको ब्याटिङ लाइन ध्वस्त पारेका थिए ।
२५ वर्षपछि उपाधि भिडन्तमा आमनेसामने
भारत र न्यूजिल्याण्ड दुई पटक आईसीसी प्रतियोगिताको फाइनलमा भिडेका छन् । दुई टोलीले अन्तिम पटक २०२१ मा विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा एकअर्कासँग खेलेका थिए । वर्षाका कारण छ दिनसम्म चलेको सो खेलमा न्यूजिल्याण्डले भारतलाई पराजित गरेको थियो ।
रोचक कुरा के छ भने यी दुई टोलीले अन्तिम पटक सन् २००० मा आईसीसी नकआउट ट्रफी (अहिले च्याम्पियन्स ट्रफी) मा आईसीसी सीमित ओभरको ढाँचाको फाइनल खेलेका थिए ।
त्यतिबेला न्यूजिल्याण्डले भारतलाई चार विकेटले हराएर उपाधि जितेको थियो । त्यो खेलमा सौरभ गांगुलीको नेतृत्वमा रहेको भारतीय टोलीले गांगुलीको ११७ रन र सचिन तेन्दुलकरको ६९ रनको मद्दतले ५० ओभरमा ६ विकेट गुमाएर २६४ रन बनाएको थियो ।
जवाफमा स्टेफन फ्लेमिङको कप्तानीमा रहेको न्यूजिल्याण्डले लक्ष्य सफलतापूर्वक हासिल गर्यो । न्यूजिल्याण्डका लागि सो खेलमा क्रिस केर्न्सले ११३ बलमा अविजित १०२ रन बनाए र भारतबाट जित खोसेका थिए ।
न्यूजिल्याण्डले लामो समयदेखि आईसीसी उपाधिको प्रतिक्षा गरिरहेको छ । त्यसबेलादेखि न्यूजिल्याण्डले अहिलेसम्म आईसीसीको ह्वाइट बल प्रतियोगिता जितेको छैन ।
न्यूजिल्याण्ड २०१५ र २०१९ को एक दिवसीय विश्वकपको फाइनलमा पुगेको थियो तर दुवै पटक पराजित भएको थियो । अब उनीहरूले अर्को फाइनलमा रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीसँग सामना गर्नेछन्, जुन प्रतियोगितामा अपराजित रहँदै उपाधि खेलमा पुगेको छ ।
भारत आईसीसी प्रतियोगिताको १४औँ फाइनल खेल्दै
पछिल्ला केही वर्षहरूमा आईसीसी प्रतियोगिताहरूमा भारतको प्रदर्शन उत्कृष्ट रहेको छ । रोहितको कप्तानीमा रहेको भारतीय टोलीले गत वर्ष टी–२० विश्वकपमा दक्षिण अफ्रिकालाई हराएर उपाधि जितेको थियो, जुन ११ वर्षमा पहिलो पटक आईसीसी उपाधि थियो ।
अब आठ महिनापछि, टोली दोस्रो आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको छ र उपाधिको धेरै नजिक छ । यद्यपि भारतको लागि न्यूजिल्याण्डको चुनौती सजिलो हुनेवाला भने छैन ।
२५ वर्षपछि यी दुई टोली फेरि एक पटक आईसीसीको सीमित ओभर ढाँचाको उपाधि खेलमा आमनेसामने हुनेछन् । रोचक कुरा के छ भने यी दुई टोलीले अन्तिम पटक सन् २००० मा आईसीसी नकआउट ट्रफी (अहिले च्याम्पियन्स ट्रफी) मा आईसीसी सीमित ओभरको ढाँचाको फाइनल खेलेका थिए । त्यतिबेला न्यूजिल्याण्डले भारतलाई ४ विकेटले हराएर उपाधि जितेको थियो ।
पछिल्ला केही वर्षहरूमा भारतले आईसीसी प्रतियोगिताहरूमा प्रभुत्व जमाएको छ । भारतले उपाधि जित्ने अवसरहरू गुमाइरहेको भए पनि लगातार नकआउट खेलहरूमा पुग्न सफल भएको छ ।
अन्तिम पटक च्याम्पियन्स ट्रफी २०१७ मा आयोजना भएको थियो । त्यतिबेला पनि भारत फाइनलमा पुगेको थियो तर उपाधि जित्नबाट चुकेको थियो ।
त्यसपछि टोली २०१९ एक दिवसीय विश्वकपको सेमिफाइनलमा पुग्यो जहाँ उनीहरू न्यूजिल्याण्डसँग पराजित भए र प्रतियोगिताबाट बाहिरिएको थियो ।
भारत २०२१ मा भएको पहिलो विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पनि हारेको थियो । त्यसपछि भारत २०२३ को विश्व टेस्ट च्याम्पियनशिप फाइनल र २०२३ को एक दिवसीय विश्वकप फाइनलमा अष्ट्रेलियासँग पराजित भयो ।
भारतको आईसीसी उपाधि जित्ने खडेरी २०२४ मा रोहितको कप्तानीमा टी–२० विश्वकप जितेपछि समाप्त भयो । भारतले पहिलो पटक १९८३ मा कपिल देवको नेतृत्वमा विश्वकपको उपाधि जितेको थियो, जुन भारतको पहिलो आईसीसी उपाधि थियो । त्यसपछि टोली २००० मा च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको थियो तर न्यूजिल्याण्डसँग हारेको थियो ।
२००२ मा यो सोही प्रतियोगितामा श्रीलंकासँग संयुक्त विजेता बन्यो । त्यसको अर्को वर्ष भारतीय टिम सौरभ गांगुलीको नेतृत्वमा २००३ मा एकदिवसीय विश्वकपको फाइनलमा पुगेको थियो, तर देशको सपना फेरि एक पटक चकनाचुर भयो र टोलीले अष्ट्रेलियाको हातबाट हार बेहोर्नु पर्यो । २००७ मा, महेन्द्र सिंह धोनीको नेतृत्वमा, भारतले पहिलो टी(२० विश्वकपको फाइनलमा पाकिस्तानलाई पराजित गर्यो ।
ठीक चार वर्षपछि, धोनीको कप्तानीमा, भारतले मुम्बईको वानखेडे स्टेडियममा खेलिएको २०११ को एकदिवसीय विश्वकपको फाइनलमा श्रीलंकालाई हराएर उपाधि जित्यो ।
धोनीको नेतृत्वमा भारतले २०१३ मा च्याम्पियन्स ट्रफीमा फेरि इङ्गल्याण्डलाई पराजित गर्यो । धोनीको कप्तानीमा यो भारतको तेस्रो आईसीसी उपाधि थियो । यसपछि भारतीय टिम उपाधिको लागि आतुर थियो । २०१४ को टी(२० विश्वकपको फाइनलमा भारत श्रीलंकासँग पराजित भएको थियो । जबकि, २०१७ मा, उनीहरू च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानसँग पराजित भएका थिए । भारतले २०२१ र २०२३ को विश्व टेस्ट च्याम्पियनसिप फाइनल हारेको थियो भने टोलीले घरेलु मैदानमा २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा हार बेहोरेको थियो । यद्यपि २०२४ मा बार्बाडोसमा भारतको उपाधि खडेरी गत वर्ष समाप्त भयो र भारत अब अर्को आईसीसी उपाधिको आशामा छ ।
च्याम्पियन्स ट्रफी २०२५ को फाइनल अघि भारत सबै ढाँचामा कुल १३ पटक आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको छ । यसमध्ये भारतले छ पटक उपाधि जित्न सफल भएको छ ।
भारतले १९८३, २००२, २००७, २०११, २०१३ र २०२४ मा आईसीसी उपाधि जितेको छ । यदि भारतले आइतबार न्युजील्याण्डलाई हराउन सफल भयो भने, यो सातौं आईसीसी उपाधि हुनेछ, जबकि यो रोहितको कप्तानीमा लगातार दोस्रो आईसीसी ट्रफी हुनेछ ।
एक दिवसीय खेलमा हेड टु हेड
एकदिवसीय खेलमा भारत र न्यूजिल्याण्डको हेड टू हेडको कुरा गर्ने हो भने दुवै देश अहिलेसम्म ११९ पटक एकदिवसीय खेलमा आमने सामने भएका छन् । जसमा भारतले ६१ खेल जितेको छ भने न्यूजिल्याण्डले ५० खेल जितेको छ । त्यस्तै दुवै देशबीचका ७ खेलको नतिजा आएको छैन भने एक खेल बराबरीमा सकिएको छ ।