२०१८ सालमा चन्द्रमान थकाली गुल्मीका बडाहाकिम भएको कुरा माथि बताइसकिएको छ । त्यसै समयमा काठमाडौँस्थित अमृत साइन्स कलेजका प्राध्यापक शंकरप्रसाद उपाध्यायको अध्यक्षतामा एउटा विशेष अधिकार सम्पन्न दौडाहा टोली बाग्लुङ र स्याङ्जा जिल्लाको निरीक्षण भ्रमण गरेर गुल्मीको निरीक्षण भ्रमणमा आयो ।
त्यस निरीक्षणको उद्धेश्य जिल्लाका फटाहा, गरिबमारा, शोषक प्रवृत्तिका व्यक्तिहरुलाई तह लगाउने थियो ।
नेपालको एकीकरण पश्चात् लेखिएको ‘दिव्योपदेश’ मा ‘दाबा भन्या नुवाकोटको, बहाना भन्या षिन्च्यात्को कुलो काटी खेत बिराउनाको’ भनेजस्तै मूल उद्धेश्य पञ्चायती व्यवस्थाको निरीक्षण, फटाहा निर्मूलीकरण चाहिँ गौण कार्य थियो ।
तर त्यसले पनि समाजमा केही न केही काम भने अवश्य गर्यो । त्यस प्रसङ्गमा गुल्मी इस्माका ईश्वरीप्रसाद रिजाल र डिल्लीराज पक्राउ परे ।
उनीहरु अति बाठा व्यक्ति थिए । अतः आफूले जनताको शोषण गरेको बेहोरा तुरुन्तै स्वीकार गरे । कालोमोसो घसिनेमा परेनन् ।
जसले आफ्नो शोषण र दमन गर्ने प्रवृत्तिलाई लुकाउन प्रयास गर्दथ्यो त्यसलाई आवश्यक परेमा पिटेर भए पनि ‘ख’ गराइन्थ्यो र मुखमा कालो मोसो धसेर घुमाइन्थ्यो ।
त्यसमा बालुवा भन्ने गाउँका रुक्माङ्गद पोख्रेल र अर्खलेका लोकनाथ पनि परे । साथै अरूलाई पनि यो प्रशासनले सजाय दिन बाँकी राखेन ।
गुल्मी चारपालाका मु. जीवनाथ अर्याललगायत धेरै जनालाई पाल्पा जेलमा चलान गरियो ।
मर्भुङ्ग, अर्खवाङका धनेश्वर अर्याल राति पुलिसको निगरानी छलेर भागे । ठूलाठालु हुँ भन्ने जे जति थिए तिनीहरुलाई हाहाकार पर्यो ।
यसपछि फटाहा वर्ग हच्किँदै गए । शोषणप्रथा कम भयो । यो एउटा राम्रो उपलब्धि हो । (स्व प्राडा बाबुराम पोख्रेलको ‘भए गरेका कुरा’ आत्मवृत्तान्त पुस्तकबाट)