मापदण्ड विपरीतका रौतहटका थप १० निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
947
Shares
रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको मध्यभाग गरुडा–शिवनगर चौकस्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।
मुख्यमन्त्री सिंहले बिहीवार अबेर साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरुको छड्के अनुगमन निरीक्षण गर्दै मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् ।
गरुडा नगरपालिका–५ शिवनगरमा स्थित आनन्द अस्पताल एक्युपन्चर सेन्टर प्रालि, गरुडा –४ गरुडामा अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटल लगायतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।
अनुगमनको क्रममा नियम विपरीत सञ्चालन गरिएको पाइएकोले उक्त अस्पिटलहरु बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताएका थिए। मापदण्ड पूरा गरेपछि मात्र सञ्चालन गर्न त्यस अघी नियम प्रक्रिया नपुगुन्जेलसम्म हस्पिटल बन्द राख्न सञ्चालकहरुलाई लिखित पत्र थमाएका थिए ।
मापदण्ड पूरा नगरी हस्पिटल सञ्चालन गरेको पाइएमा अस्पताल सञ्चालकलाई पक्राउ गरी कार्यवाही गर्नेसमेत मुख्यमन्त्री सिंहले चेतावनी दिएका छन् । मुख्यमन्त्री सतिश कुमार सिंह गरुडामा अनुगमन गर्न आएको थाहा पाउने बित्तिकै कयौँ हस्पिटलका सञ्चालकहरुको भागाभाग भएको थियो ।
गरुडा शिवनगरमा अबैध हस्पिटल सञ्चालन गरी उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्दै आएको गुनासोको आधारमा बिहीबार अनुगमन गरिएको मुख्यमन्त्री सिंहले बताएका थिए ।
झोले हस्पिटलको रुपमा रहेको सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति अस्पतालका सञ्चालकहरु हस्पिटल बन्द गरी फरार भएका थिए । तर पनि मुख्यमन्त्री सिंहले ती हस्पिटलहरुलाई समेत कार्यवाही स्वरुप बन्द गर्न निर्देशन दिएका हुन् ।
त्यस्तै वर्षौदेखि बिरामीलाई लुट्दै आएका शिवनगरका आनन्द हस्पिटल एक्युपन्चर सेन्टरका सञ्चालक एवं नक्कली डाक्टर उमेशप्रसाद साह मुख्यमन्त्री सिंह आएपछि हस्पिटल छाडेर फरार भएका थिए ।
अनुगमनको क्रममा आनन्द हस्पिटल अनुमति गरुडा नगरपालिकाबाट कानुन विपरीत २५ बेडको अनुमति लिएर ६० भन्दा बढी बेड राखेको, एउटा भवनमा हस्पिटल सञ्चालन गर्ने अनुमति लिएर तीन वटा भवनमा सञ्चालन गरेको, अन्य मापदण्ड पूरा नगरेको देखिएको मुख्यमन्त्री सिंहले बताएका छन् ।
पालिकाले निजी अस्पताललाई १५ बेडको मात्र अनुमति दिने अधिकार विपरीत गरुडा नगरपालिकाले आनन्द हस्पिटललाई २५ शैया बेडको अस्पताल सञ्चालन गर्न अनुमति दिएको देखिएकोले गरुडा नगरपालिकालाईसमेत कारबाही हुने बताएका छन् ।
रौतहट जिल्लामा पछिल्लो समय मापदण्ड विपरीत अस्पताल सञ्चालन गर्ने क्रम बढेको छ । अधिकांश अस्पतालमा एम्बुलेन्स रोक्ने पार्किङ स्थलसमेत छैन ।
यस्ता अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा बेथिति र सर्वसाधारणले सास्ती खेप्नु परेको छ । गौर चन्दरनिगाहपुर सडक खण्डमा दर्जनौँ स्थानमा दर्ता नै नभएका निजी अस्पतालहरु संचालनमा रहेका छन् ।
मुख्यमन्त्री सिंहले यसअघि चन्द्रनिगाहपुरस्थित अनुगमनको क्रममा १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका थिए ।