काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलको राउण्ड १६ को पहिलो लेगमा बार्सिलोना, बायर्न म्युनिख र लिभरपुल विजयी भएका छन् ।
गएराति सम्पन्न खेलमा बार्सिलोनाले बेनिफिकालाई १–० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा खेलको ६१औं मिनेटमा राफिन्हाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा खेलको २२औ मिनेटमा बार्सिलोनाका पाउ कुबार्सीले रातो कार्ड पाए पछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।
बेनिफिकाको घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा अग्रता हासिल गरेको बार्सिलोनाले दोस्रो लेग मार्च ११ मा आफ्नो घरेलु मैदानमा खेल्ने छ ।
त्यस्तै बायर्न म्युनिखले बायर लिभरकुजेनलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदानमा खेलेको बायर्नलाई जिताउन ह्यारि केनले २ तथा जमाल मुसियालाले १ गोल गरे ।
खेलको ६२ औँ मिनेटमा नोर्दी मुकेलेले दोहोरो पहेँलो कार्ड खाँदा बायर १० खेलाडीमा सीमित भएको थियो ।
त्यस्तै लिभरपुलले पेरिस सेन्ट जर्मेनलाई पराजित गरेको छ । इङ्गलिश प्रिमियर लिग लिडर लिभरपुलले फ्रेन्च लिग क्लब पीएसजीलाई १–० ले पराजित गरेको हो ।
खेलको ८७ औँ मिनेटमा हार्वे इलियटले गोल गर्दै लिभरपुलले पीएसजीको मैदानमा हराउन सफल भएको हो ।