च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्यूजिल्याण्ड भिड्ने
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २१ बुधबार
617
Shares
तस्बिर – गेट्टि इमेजेज ।
काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा भारत र न्यूजिल्याण्ड भिड्ने भएका छन् । सेमिफाइनलमा भारतले मंगलबार राति अष्ट्रेलियालाई ४ विकेटले पराजित गरेको हो भने न्यूजिल्याण्डले बुधबार राति दक्षिण अफ्रिकालाई ५० रनले पराजित गरेको हो ।
फाइनल खेल आइतबार हुनेछ । समूह चरणको खेलमा भारतले न्यूजिल्याण्डलाई पराजित गरेको थियो ।
भारत अष्ट्रेलिया खेल
तटस्थ स्थल दुबई इन्टरनेशनल स्टेडियममा भएको खेलमा भारत ४ विकेटले विजयी भएको हो । विजयका लागि २६५ रनको चुनौती भारतले ४८.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । उनले संयमित हुँदै ९८ बलको सामना गरेका थिए ।
त्यस्तै श्रेयस अथ्यरले ४५, केएल राहुलले ३४ बलमा अविजित रहँदै ४२ तथा कप्तान रोहित शर्मा र हार्दिक पाण्डेयाले समान २८ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रन बनायो ।
कप्तान स्टेभेन स्मिथले ७३ तथा एलेक्स क्यारीले ६१ रन बनाए । त्यस्तै ओपनर ट्राभिस हेडले ३९ रन बनाए ।
१४ पटक टस हार्ने कीर्तिमान बनाएको भारतका लागि मोहम्मद शमीले ३ तथा रविन्द्र जडेजा र वरुण चक्रवर्तीले २–२ विकेट लिए । त्यस्तै हार्दिक पाण्डेया र अक्षर पटेलले १–१ विकेट लिए ।
भारतले अहिलेसम्म एक दिवसीयमा लगातार १४ टस हारिसकेको छ । यो कुनै पनि टिमको रेकर्ड हो । यसअघि नेदरल्याण्ड्सले लगातार ११ खेलमा टस हारेको थियो ।
भारतले यो जितसँगै सन् २०२३ को एक दिवसीय विश्वकपको फाइनलमा हारेको खेलको बदलासमेत लिएको छ ।
न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाबीचको सेमिफाइनल
पाकिस्तानको लाहोरमा भएको खेलमा न्यूजिल्याण्ड ५० रनले विजयी भयो । पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ६ विकेटको क्षतिमा ३६२ रन बनायो ।
यो च्याम्पियन्स ट्रफीको अहिलेसम्मकै सर्वाधिक योगफल हो । न्यूजिल्याण्डका लागि रचिन रविन्द्रले १०१ बलमा १०८ तथा केन विलियमसनले ९४ बलमा १०२ रन बनाए ।
त्यस्तै ग्लेन फिलिप्सले २७ बलमा अविजित रहँदै ४९ तथा डयारेल मिचेलले ३७ बलमा ४९ रन बनाए ।
दक्षिण अफ्रिकाका लुंगी एनगिडीले ३ तथा कागिसो रबाडाले २ विकेट लिए ।
जवाफमा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा ३१२ रनमात्र बनाउन सक्यो । डेभिड मिलरले ६७ बलमा अविजित रहँदै सय रन जोडे । रस्सि भान डर डुसेनले ६९ तथा कप्तान टेम्बा बाभुमाले ५६ रन जोडे ।
मिचेल सान्टनरले ३ तथा ग्लेन फिलिप्स र माट हन्रीले २–२ विकेट लिए ।
अलराउन्ड प्रदर्शन गरेका रचिन जसले १०८ रन, १ विकेट र २ क्याच लिए उनी म्यान अफ द म्याच भए ।