भारतको थपियो रेकर्ड, लगातार १४ पटक टस हार्दा अष्ट्रेलिया ब्याटिङमा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
915
Shares
काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा अहिले भारत र अष्ट्रेलिया खेल्दैछन् ।
तटस्थ स्थल दुबई इन्टरनेशनल स्टेडियममा दिउँसो २ः४५ बजेदेखि हुने खेलमा भारतले टस हारेर पहिले बलिङ गर्दैछ ।
भारतले टस हार्ने कीर्तिमान बनाएको छ । भारतले अहिलेसम्म एक दिवसीयमा लगातार १४ टस हारिसकेको छ । यो कुनै पनि टिमको रकेर्ड छैन । यसअघि नेदरल्याण्ड्सले लगातार ११ खेलमा टस हारेको थियो ।
भारत समूह ए को विजेताको रुपमा सेमिफाइनल खेल्दैछ भने अस्ट्रेलिया समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो । प्रतियोगितामा दुवै अपराजित रहेका छन् ।
भारतले सबै तीन खेल जित्ने क्रममा पाकिस्तान, बंगलादेश र न्यूजिल्याण्डलाई हराएको थियो भने अष्ट्रेलियाले इङ्गल्याण्ड र अफगानिस्तानलाई हराउँदा दक्षिण अफ्रिकासँग अंक बाँडेको थियो ।
हेड टु हेड
आईसीसी प्रतियोगितामा भारतमाथि अस्ट्रेलिया धेरैजसो हावी हुँदै आएको छ । सन् २०२३ मा भारत आफ्नै घरेलु मैदानमा एक दिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।
अब यस सेमिफाइनलमा भारतका अगाडि अस्ट्रेलियासँग बदला लिने अवसर रहेको छ ।
भारत र अस्ट्रेलियाबीच एकदिवसीय क्रिकेटमा हेड टु हेडमा दुवैबीच अहिलेसम्म १५१ खेल भएका छन् । जसमा अस्ट्रेलियाले ८४ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै १० खेलको कुनै नतिजा आएको छैन ।
आईसीसीका नकआउट प्रतियोगितामा भने दुवैले नवौँ खेल खेल्दैछन् । यसअघिका खेलमा दुवैले चार चार खेल जितेका छन् । दुबईमा भने पहिलो पटक आमने सामने हुँदैछन् । अष्ट्रेलियाले यसअघिका तीन ओटै खेल आयोजकका हिसाबले पाकिस्तानमा खेल्यो भने भारतले पाकिस्तानमा जान नमानेका कारण यूएईमै खेल्यो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजिल्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुँदैछ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुनेछ ।