नेपालले विश्व फुटबलको ठूला प्रतियोगिता खेल्न संरचनामा लगानी गर्नुपर्छ - बुफोन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
761
Shares
काठमाडौँ । इटालीका पूर्व कप्तान तथा गोलकिपर जियानलुइजी बुफोनले नेपालले एसियन कप, विश्वकप र अन्य विश्व फुटबलको ठूलो प्रतियोगितामा खेलेको हेर्न चाहेको बताएका छन् । आइतबार काठमाडौंको हायत रिजेन्सी होटलमा आयोजित पत्रकार सम्मेलनमा बुफोनले विश्व फुटबलको ठूला प्रतियोगिता खेल्न नेपालले संरचना निर्माण र अन्य कुरामा लगानी गर्नुपर्ने बताए ।
ठूलो लक्ष्य लिएर फुटबल खेल्न प्रोत्साहित गरे एक दिन पूरा हुने पनि उनको भनाइ छ । बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर हुन् । बुफोन आइतबार नेपाल आएका हुन् । उनले आफू सानै छँदा पनि नेपालको झन्डा नयाँ र नौलो लाग्ने गरेको स्मरण गर्दै हिमालहरूको देश नेपाल आउने आफ्नो सपना पूरा भएको बताए ।
नेपाल आउँदा निकै उत्साहित र खुसी रहेको उल्लेख गर्दै यो अवसरका लागि आयोजकलाई धन्यवाद पनि दिए । उनी केपी ओली कपको फाइनलका लागि नेपाल आएका हुन् । उनले आजको दिन आफू र आफ्नो श्रीमतीका लागि अविस्मरणीय रहेको बताए ।
आफू सधैँ कामप्रति माया गर्ने र हरेक दिन आफ्नो उत्कृष्ट दिनका लागि कडा मेहनत गर्ने भएकाले फिटनेस राम्रो हुन सकेको उनले अनुभव सुनाए । अहिले आफू केपी ओली कपको फाइनलका लागि आए पनि फेरि नेपाल आउने उनको चाहना छ ।
अर्को पटक धेरै समयका लागि नेपाल आउँदा देश बाहिर घुम्ने र यहाँका धार्मिक स्थलमा पनि जाने गोलकिपर बुफोनको योजना छ ।