काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ मोरङमा कुटाकुट भएको छ । बिहीबार स्वतन्त्र विद्यार्थी युनियनको चुनावको बारेमा कांग्रेसको संस्थापन पक्ष र इतर समूहबीच कुटाकुट भएको हो ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको दुई पक्षबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् । संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा र इतर शेखर कोइराला समूहका नेताहरुबीच कुटाकुट हुँदा कोइराला समूहका दुई नेता कुटिएका हुन् ।
नेविसंघ मोरङका सभापति सरोज पोखरेल र आयुष दाहाल सहितको टोली क्याम्पसमा इकाइ समिति गठन र स्ववियु चुनावको भागबन्डाको विषय लिएर गएपछि विवाद भएको थियो ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको समूहले पोखरेल र दाहाललाई कुटेको बताइएको छ ।
स्ववियु सभापति पौडेल देउवा समूहका हुन् । जिल्ला सभापति पोखरेल भने कोइराला समूह हुन् । उनीहरूबीचको झडपमा परेर नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् ।
उनीहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।