झापा ११ भद्रपुरझापा गोल्डकपको फाइनलमा, भुटानी टिम बाहिरियो
युवराज रेग्मी,
प्रकाशित २०८१ फागुन १४ बुधबार
778
Shares
भद्रपुर । झापा–११ दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा भुटानको डागा युनाइटेड एपसीलाई पराजित गर्दै झापा फाइनलमा प्रवेश गरेको हो ।
मेची रङ्गशालामा आज भएको झापा–११ ले डागा युनाइटेडमाथि ३–१ को जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औँ मिनेटमा झापा–११ का एरोन थापाले फ्रि किकमार्फत गोल गरे ।
खेलको ८४औँ मिनटमा डागा युनाइटेडका सुरज रसाइलीले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको खेल हुँदासम्म दुवै टोली १–१ को स्थितिमा थिए ।
पाँच मिनेट थपिएको इञ्जुरी समयमा भुटान समालिन नसक्दा झापा–११ ले दुई गोल थप्यो । झापा–११ का लागि रोहन कार्की र हरिबहादुर आलेमगरले इञ्जुरी समयमा गोल गरे । आजको खेलको प्लेयर अफ द म्याच झापा–११ का एरोन थापा भए । उनले रू २१ हजार नगद र ट्रफी प्राप्त गरे ।
अब उपाधिका लागि झापाले फाइनलमा आयोजक भद्रपुर ब्लेजर्ससँग खेल्नेछ । सेमिफाइनलमा आयोजक ब्लेजर्सले बङ्गलादेशको काउनर बाजारलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।
प्रतियोगिताको विजेता टोलीले नगद रू १३ लाख तथा उपविजेता टोलीले नगद रू सात लाख प्राप्त गर्नेछन् ।