arrow

सय भन्दा बढी पाकिस्तानी प्रहरी च्याम्पियन्स ट्रफीमा ड्युटी नगरेसँगै बर्खास्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
pakistan=pollice-2025.jpg

काठमाडौँ । पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा ड्युटीबाट बेपत्ता भएका एक सय भन्दा बढी प्रहरीलाई सरकारले बर्खास्त गरेको छ । च्याम्पियन्स ट्रफीको समयमा ड्युटीमा उपस्थित नभएको भन्दै पाकिस्तान सरकारले १०० भन्दा बढी प्रहरीलाई जागिरबाट बर्खास्त गरेको हो ।

पञ्जाब पुलिस मातहतका यी प्रहरीहरू च्याम्पियन्स ट्रफीको सुरक्षाको जिम्मेवारी लिन नचाहेपछि बर्खास्तीमा परेका हुन् । यी प्रहरीहरू पञ्जाब प्रहरीका विभिन्न शाखामा कार्यरत थिए । 

एक प्रहरी अधिकारीका अनुसार च्याम्पियन्स ट्रफीका क्रममा सयभन्दा बढी प्रहरी धेरै पटक ड्युटीबाट हराएका थिए । धेरै प्रहरीहरूले च्याम्पियन्स ट्रफीको सुरक्षा मामिलामा काम नगर्ने भन्दै स्पष्ट रूपमा अस्वीकार गरेका थिए । जसका कारण उनीहरूलाई जागिरबाट बर्खास्त गरिएको जनाइएको छ ।

एक प्रहरी अधिकारीले भने, ‘यी प्रहरीहरूलाई गद्दाफी स्टेडियमदेखि लाहोरको होटलसम्म टोलीको सुरक्षा गर्न भनिएको थियो तर उनीहरु या त बेपत्ता रहे वा काम गर्न अस्वीकार गरे।’ 

अहिले पञ्जाबका आईजीपी उस्मान अनवरले यस विषयमा कडा कारबाही गर्न आदेश दिएका हुन् । अधिकारीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सुरक्षा लापरबाही सहन नसकिने जनाउँदै कारबाही प्रकिया अगाडि बढाइएको बताए ।

यद्यपि प्रहरीहरुले किन ड्युटी गर्न मानेनन् भन्ने आधिकारिक कारण भने अझै पनि खुलाइएको छैन । तर पाकिस्तानका केही मिडिया रिपोर्टका अनुसार प्रहरीहरूले आफूलाई धेरै काम गर्न लगाइएको गुनासो गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ