भद्रपुरझापा गोल्डकपको सेमिफाइनलमा झापा र भुटानी टिम भिड्दै, आयोजक फाइनलमा
युवराज रेग्मी,
प्रकाशित २०८१ फागुन १४ बुधबार
807
Shares
भद्रपुर । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज झापा–११ र भुटानको डागा युनाइटेड फुटबल क्लब भिड्दै छन् ।
खेल दिउँसो साढे २ बजे मेची रङ्गशालामा हुँदैछ । प्रतियोगितामा झापा–११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।
यसैगरी विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपिएफलाई हराउँदै झापा–११ सँगको भेट पक्का गरेको हो ।
यो खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ ।
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशी टोलीलाई हराउँदै आयोजक ब्लेजर्स फाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा पुगेको खेल आयोजकको टिमले ४–३ ले जितेको हो ।
यसअघि खेलको पहिलो हाफमा ब्लेजर्सले पाहुना टोली काउरन बाजार विरुद्ध १ गोलको अग्रता कायम गरेको थियो । खेलको दोस्रो हाफमा बंगलादेशी टोलीले १ गोल गर्दै खेलमा बराबरी कायम गर्यो । खेलको दोस्रो हाफ १–१ गोलको बराबरिमा टुंगिएको थियो ।
९० मिनेटको निर्धारित समय सम्म खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले बंगलादेशलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
टाइब्रेकरमा भद्रपुरका तर्फबाट सत्यम शर्मा, दिवश उराउ तथा विदेशी खेलाडीहरू अरमान बिडोङ र अबयोमिले गोल गर्न सफल भए भने कुलदिप कार्कीको प्रहार गोलपोस्टमा लागेर बाहिरिन पुग्यो ।
त्यस्तै बंगलादेशका तर्फबाट साइडोस्टोन, एस सिल्लाह र साहिदले गोल गरे । युसुफ एमबीको प्रहार क्रसबारमा र इब्राहिमको प्रहार गोलपोस्टमा लागेर बाहिरियो ।
फाइनल खेल शुक्रबार हुनेछ । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता रहेको हो ।