त्यस्तो सरकारी विद्यालय जहाँ बुबा अध्यक्ष, छोरा प्रअ, छोरी शिक्षिका र बुहारी पियन
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
987
Shares
रौतहट । सामुदायिक सरकारी विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बुबा, छोरा प्रधानाध्यापक, छोरी शिक्षिका, बुहारी पियन अर्दली सुन्दा अपत्यारिलो लाग्नसक्छ । यो यथार्थ हो ।
रौतहटको उत्तरीभेग गुजरा नगरपालिका ५ ईशलाम्पुर गाउँ छेउँ रहेको श्री रहमान प्राथमिक विद्यालयमा यही भइरहेको छ । यस दुर्लभ विद्यालयका प्रधानाध्यापक र गुजराको नगर शिक्षा संयोजकको मिलोमतोमा बर्सेनि लाखौँ रुपैयाँ भ्रष्टाचार हुँदै आएको प्रकाशमा आएको छ ।
उक्त विद्यालयलाई गाउँलेहरुले पछिल्लो समय रहमान प्राथमिक विद्यालयको स्थानमा रहमान पारिवारिक विद्यालय भन्ने गरेका छन् । पछिल्लो एक दशक भन्दा बढी समयदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेका छन् गुजरा ५ ईश्लामापुरका अवकाश प्राप्त शिक्षक मजिबु रहमान ।
प्रधानाध्यापक उनको छोरा महमद अफरोज आलम रहेका छन् । सोही विद्यालयमा महिला शिक्षिका प्रधानाध्यापक अफरोजकी छोरी गुलशन नेसा कार्यरत रहेकी छिन् । उननी श्रीमती सबरिन खातुन पियन अर्दलीको रुपमा कार्यरत रहेकी छिन् ।
प्रधानाध्यापक महमद अफरोज विद्यालयलाई आफ्नो निजी सम्पत्ति सरह बनाएर नगर शिक्षा संयोजक शिवमंगल साहसँग मिलेर विद्यार्थीको नाउँमा लाखौँ रुपैयाँ भ्रष्टाचार गरिरहेको आरोप छ ।
अध्यक्ष मजिबु रहमान लक्ष्मीपुर प्राबिका प्रधानाध्यापक हुँदा २०६५ सालमा झोले विद्यालयको अवधारणा अनुरूप बाटो नभएको २ कठ्ठा खेत रजिष्ट्रेशन गरेर खोलेको उक्त विद्यालयको नालीबेली बताउन गाउँलेहरुले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
मजिबु रहमानले विद्यालय खोलेर छोरा अफरोजलाई प्रधानाध्यापक बनाएर सञ्चालन गरेका थिए। केही वर्षअघि गुजरा नगरपालिका अन्तर्गतका धेरै झोले विद्यालयहरु सामुदायिक विद्यालयहरूमा मर्ज भएका थिए ।
तर रहमानले कतैबाट राहत दरबन्दी किनेर सोही दरबन्दीमा छोरा अफरोजलाई प्रधानाध्यापक बनाएर राखेपछि विद्यालय भने अहिलेसम्म अस्तित्वमा रहेको पत्रकार सम्मेलनमा स्थानीय समाजसेवी तथा नेपाली कांग्रेसका जिल्ला सहसचिव फिरोज आलमले बताएका छन् ।
मजिबु रहमान लक्ष्मीपुर प्राविमा कार्यरत हुँदा रहमान प्राविको व्यवस्थापन समितिको अध्यक्षमा उनकै परिवारका अन्य सदस्य रहेका थिए तर उनी अवकाश भएपछि एक दशक बढी समयदेखि अध्यक्षको रूपमा विराजमान रहेको आलमले बताएका छन् ।
२०७४ सालको स्थानीय निकायको निर्वाचनपछि गुजराका नगर शिक्षा संयोजक शिवमंगल साहकै मिलोमतोमा रहमान प्राविका प्रधानाध्यापक अफरोजले लाखौं भ्रष्टाचार गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
त्यतिमात्र नभई एकजना वडा अध्यक्षको सिंगो कार्यकाल सकेर गुजरा ५ का अर्का वडा अध्यक्ष शेख जमालुदिनको कार्यकाल आधा विती रहँदा पनि उक्त विद्यालयको व्यवस्थापन समिति गठन हुन नसक्नुमा शिक्षा संयोजककै चलखेल रहेको सहसचिव आलमले दाबी गरेका छन् ।
रहमान प्राविमा हाल कक्षा १ देखि ५ सम्म झण्डै १५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । तर शिक्षा संयोजकसँग मिलेर प्रधानाध्यापक अफरोजले विद्यार्थी संख्या ३६० देखाएर नगरपालिकाबाट सम्पूर्ण सुविधा लिँदै आएको आलमले बताएका छन् ।
विद्यालयको समिति र विद्यार्थी संख्यालगायत अन्य जानकारीको लागि पटक पटक गुजरा नगर शिक्षा संयोजक शिवमंगल साह लाई गएर भन्दा कहिलै वास्ता नगरेको उनको आरोप रहेको छ । त्यतिमात्र नभई आफ्नो घर कटहरिया बाट दैनिक कार्यालय त्यही बाटो भएर जाने तर विद्यालयको अवस्था कहिलै नहेरेको पत्रकार सम्मेलनमा बताईएको छ ।
विद्यालयको लागि पैसा निकासा हुने दिन शिक्षा संयोजक साह प्रधानाध्यापक अफरोज आलमसँगै बैंकसम्म पुगेर रकमबाट भागबण्डा गर्ने गरेको आलमले आरोप लगाएका छन् ।
कक्षा १ देखि ५ सम्मका प्रति विद्यार्थी खाजा बापत दैनिक १५ रुपैयाँ, पाठ्यपुस्तक सरदर ५०० रुपैयाँ र छात्रवृत्ति छात्रा सम्पूर्ण र दलित छात्रालाई सरकारले ४०० रुपैया दिँदै आएको छ । ३६० विद्यार्थीको हिसाब गर्ने हो भने एक दशकमा लाखौं लाख भ्रष्टाचार भएको आलमले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
पत्रकार सम्मेलनमा सहभागी वडा ५ का अध्यक्ष शेख जमाजुदिनले प्रधानाध्याक अफरोजले विद्यालयको सम्पूर्ण रजिस्टर लुकाएर राखेको बताएका छन् । विद्यालयमा पटक पटक अनुगमन गर्दा कहिल्यै कुनै रजिस्टर नभेटेको र समिति गठनको लागि २ वर्षदेखि प्रयास गर्दा गर्दै केही दिनअघि ४ जना सदस्य छनोट भए पनि प्रधानाध्यापकको बदमासीले पूर्णता नपाएको गुनासो गरेका छन् ।
समितिलाई पूर्णता दिन आइतबार विद्यालयमा अभिभावक भेला हुँदा प्रधानाध्यापकका परिवारका मानिसहरूले मजिबु रहमान जग्गादाता भएकाले पुनः अध्यक्ष हुनुपर्ने अडान लिएर कुटपिटमा उत्रँदा पुनः स्थगित गरिएको वडाध्यक्ष जमालुदिनले बताएका छन् ।
उता नगर शिक्षा संयोजक शिवमंगल साहसँग कुरा गर्दा जिम्मेवार व्यक्तिमाथि यस्तो आरोप लाग्नु नौलो कुरा नभएको, आफूले कुनै गलत काम नगरेको भन्दै सबै आरोपको खण्डन गरेका छन् ।
तर गुजरा नगरपालिकामा मेयर सन्तलाल चौधरीले रहमान प्राविसँगै अन्य कयौं विद्यालयको गतिविधि खराब गर्नुमा शिक्षा संयोजक शिवमंगल साह मुख्य दोषी रहेको बताएका छन् ।
रहमान प्राविको समिति गठनलगायत अन्य गतिविधिको बारेमा पटक पटक निर्देशन दिँदा शिक्षा संयोजक साह विभिन्न बहाना बनाएर फुत्किने गरेको मेयर चौधरीले गुनासो गरेका छन् । आफ्नो पहिलो कार्यकालदेखिनै गुजराको नगर शिक्षा संयोजक रहेको उनी चिप्लो कुरा गर्ने, अनेक नियम कानून देखाएर मनपरी गर्दै आएको उनले बताए ।
रहमान प्राविका वर्तमान अध्यक्ष मजिबु रहमान लक्ष्मीपुर प्राविको रकम हिनामिना गर्दा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा चलिरहेको थियो ।
तर शिक्षा संयोजक शिवमंगल साहले आफूलाई बिना जानकारी रहमानको सिफारिस गरी पठाएकाले पनी आर्थिक चलखेल भएको हुनसक्ने मेयर चौधरीले आशंका व्यक्त गरेका छन् ।