arrow

प्रकृतिका आमाबाबुसँग प्रधानमन्त्री ओलीको कुराकानी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
prakriti-lamsal-ba-aama.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत रहेका क्रममा मृत्यु भएकी प्रकृति लम्सालका आमाबाबुसँग कुराकानी गरेका छन् । 

एमाले नेता महेश बस्नेतले भैरहवास्थित घरमा पुगेर उनका बुबाआमा र परिवारसँग भेटी समवेदना व्यक्त गर्दै उनले प्रकृतिका बुबाआमाको प्रधानमन्त्री ओलीसँग कुराकानी गराएका हुन् ।

सो कुराकानीमा प्रधानमन्त्रीले घटनाको समग्र विषयमा थप जानकारी लिँदै न्यायका लागि पहल गर्ने र अपराधमा संलग्नलाई कारबाही गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले यो घटनामा निष्पक्ष छानबिन गरी न्याय सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको बताए । 

उनले भने, ‘यो खबर सुनेर मलाई निकै दुःख लागेको छ। हामी सबैलाई दुःखी बनाएको छ। भएर गएको घटनालाई फर्काउन सकिँदैन । नहुनुपर्ने घटना भयो । हामीले धैर्य गरेर यसको सामना गर्नुपरेको छ । छानबिन पनि भइरहेको छ ।’

कुराकानीका क्रममा प्रकृतिका बुवा सुनिल लम्सालले सरकारले पहल गरिरहेको भन्दै विदेश पढ्न जाने अन्य विद्यार्थीले भविष्यमा यस्तो पीडा भोग्न नपरोस् भनेर ध्यान दिनुपर्ने बताए । 

सुनिलले भने, ‘हाम्रो त घटना भइसक्यो। त्यहाँ धेरै नेपालीका छोराछोरी छन् । आगामी दिनमा यस्ता घटना नहुन् । सरकारले पनि यसमा पहल गरोस् । घटना भइसक्यो, दुर्घटना भइसक्यो ।’

जवाफमा प्रधानमन्त्री ओलीले यो प्रकरणलाई सरकारले शुरुदेखि नै गम्भीरपूर्वक लिएको उल्लेख गर्दै प्रकृतिलाई न्याय दिलाउन प्रतिबद्ध रहेको बताए ।

केआईआईटीमा अध्ययनरत प्रकृति लम्साल फागुन ४ मा मृत फेला परेकी थिइन् । यो घटनामा संलग्न भएको आरोपमा ओडिसा प्रहरीले भारत उत्तर प्रदेशका एक विद्यार्थीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । 

त्यस्तै नेपाली विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गरेको दुर्व्यवहारको भारतमै चर्को विरोध भएपछि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई अध्ययनमा फर्किन आग्रह गरेको छ । 

यो घटनापछि दुई सयभन्दा बढी विद्यार्थी स्वदेश फर्किएका छन् । उक्त विश्वविद्यालयमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ