शान्ति सेना खटाउने राष्ट्रमा नेपाल अग्रणी [भिडियो]
विश्व शान्ति र स्थायित्वका लागि १ लाख ५४ हजार सेनाको योगदान
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ११ आइतबार
874
Shares
काठमाडौँ । नेपाली सेनाले विश्व शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघमार्फत एक लाख ५४ हजार तीन सय चालिस नेपाली सैनिकले योगदान गरेको बताएको छ ।
नेपाली सेनाले हालसम्म गरेका कार्यहरूका बारेमा जानकारी दिन आइतबार मुख्यालयमा आयोजित कार्यक्रममा यो जानकारी दिएको हो । नेपाली सेनाका युद्ध कार्य निर्देशक सहायक रथी रवीन्द्र खत्रीले शान्ति स्थापनाका लागि खटिएका ७३ नेपाली सैनिकले वीरगति प्राप्त गरेको बताए । उनले शान्ति कार्यमा खटिएका ६९ सैनिक घाइते भई आजीवन असहज जीवनयापन गरिरहेको समेत बताए । संयुक्त राष्ट्रसंघमार्फत शान्ति सेनामा सैनिक खटाउने राष्ट्रमा नेपालको स्थान अग्रणी रहेको उनको भनाइ छ ।
उनले भने, ‘संयुक्त राष्ट्र सङ्घको छातामुनि रही विश्व शान्ति र स्थायित्वका लागि हालसम्म विभिन्न ४४ वटा मिसनहरूमा १ लाख ५४ हजार तीन सय चालिस जना नेपाली शान्ति सैनिकहरूले सहभागिता जनाइसकेका छन् । यस महान् कार्यको दौरान ७३ जना वीर नेपाली सेनाले ज्यान उत्सर्ग गरेका छन् भने ६९ सैनिकहरू घाइते हुन गई आजीवन असहज जीवन यापन गरिरहेका छन् । हाल ११ वटा मिसनहरूमा नेपाली महिला सैनिक ६४२ सहित कूल पाँच हजार नौ सय १३ जना सैनिक शान्ति सैनिकको सहभागिताले फौज खटाइ योगदान गर्ने राष्ट्रहरूको मर्यादा क्रममा नेपाल महिला र पुरुष सैनिक पठाउने राष्ट्रको सूचिमा अग्रणी स्थानमा रहेको जानकारी गराउन चाहन्छु ।’
नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण, एउटा सिकार आरक्षण र चुरे क्षेत्रको सुरक्षा र संरक्षणका लागि नौ हजार सेना खटिएको बताएको छ । नेपाली सेनाले मित्रराष्ट्रहरूका सेनासँग सैनिक तालिमहरू तथा सैनिक उच्च अधिकारीहरूको भ्रमण र समन्वयात्मक बैठक गरी सैनिक कूटनीतिक गतिविधिबाट मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रगाढ बनाएको जानकारी दिएको छ ।